काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (स्टक ब्रोकर) सेवा लिन इच्छुक कम्पनीहरूबाट सूचीकरणका लागि प्रस्ताव आह्वान गरेको छ । टेलिकमले आफ्नो धितोपत्र सम्बन्धी कारोबारका लागि योग्य दलाल सेवा प्रदायकहरूको सूची तयार गर्ने उद्देश्यले यो सूचना जारी गरेको हो ।
सूचना अनुसार, योग्यता पुगेका इच्छुक धितोपत्र दलाल कम्पनीहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति (भदौ ८ गते) ले १५ दिनभित्र कार्यालय समयमा टेलिकमको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा सूचीकरण प्रस्ताव दर्ता गराउनु पर्नेछ । सूचीकरणका लागि आवश्यक प्रस्ताव फाराम कम्पनीबाट निःशुल्क प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।
प्रस्ताव पेश गर्ने कम्पनीहरूका लागि टेलिकमले विभिन्न योग्यता र शर्तहरू तोकेको छ । जसअन्तर्गत, कम्पनी प्रचलित कानुन बमोजिम दर्ता भएको, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी नवीकरण गरेको र स्थायी लेखा नम्बर प्राप्त गरेको हुनुपर्नेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पूँजी पुगेको, आर्थिक वर्ष २०८१/८२ को नेट वर्किङ क्यापिटल धनात्मक भएको र सोही वर्षको कर चुक्ता गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।
व्यवसायिक अनुभव र कारोबारको हकमा कम्पनीले कडा मापदण्ड राखेको छ । प्रस्ताव पेश गर्ने दलाल कम्पनीको अन्तिम दुई आर्थिक वर्ष (२०८०/८१ र २०८१/८२) को धितोपत्रहरूको औसत वार्षिक कारोबार रकम कम्तीमा १० अर्ब रुपैयाँ भन्दा बढी भएको हुनुपर्नेछ । साथै, धितोपत्र दलालका रूपमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ भने कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएको कम्पनी वा अन्य संगठित संस्थामा एक वर्ष काम गरेको अनुभव अनिवार्य गरिएको छ ।
कानुनी रूपमा कारोबार गर्न अयोग्य नभएका र उल्लेखित मापदण्ड पुरा गर्ने कम्पनीहरूले आफ्नो प्रोफाइलसहित प्रस्ताव दर्ता गराउन सक्नेछन् ।





Comment