काठमाडौँ । काठमाडौँ महानगपालिकाले ९२ निजी विद्यालयसँग स्पष्टीकरण मागेको छ।
महानगरको शिक्षा विभागले ३५ दिने सूचना जारी गरी निजी विद्यालयसँग स्पष्टीकरण मागेको हो। महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृतिप्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेश गर्न भनिएको छ।
विभागका प्रमुख नवराज ढकालले शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएमा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिए। चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा शिक्षा विभागले आवश्यक प्रक्रिया अघि बढाउने ढकालले बताए।
यसअघि पनि महानगरले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। नगर शिक्षा समितिको बैठकले कागजमा मात्र रहेका तथा यथार्थमा सञ्चालनमा नरहेका संस्थागत विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको उनले बताए।





Comment