संसदीय समितिमा आईजीपी कार्कीको असन्तुष्टि, ‘जे मन लाग्यो त्यही भन्ने ठाउँ होइन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलहरूमा गरिने अभिव्यक्ति मर्यादित र तथ्यमा आधारित हुनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले कर्मचारीहरूको निष्ठा र संस्थाको गरिमामा आँच पुग्ने गरी गरिने टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरे। उनले वर्षौँदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएका कर्मचारीहरूलाई आधारहीन आरोप लगाउने प्रवृत्तिले कार्यसम्पादनमा नकारात्मक असर पार्न सक्ने बताए।

बैठकका क्रममा प्रहरी प्रशासनमाथि परेका विभिन्न उजुरी तथा निवेदनहरूको सन्दर्भ उल्लेख गर्दै आईजीपी कार्कीले सबै विषयलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने धारणा राखे। जिम्मेवार पदमा रहेका व्यक्तिहरूले बोल्ने शब्द र व्यवहारमा संवेदनशीलता अपनाउनुपर्ने उनको भनाइ थियो।

‘आजसम्म निष्ठापूर्ण काम गरेको मान्छेलाई ल्याएर जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला। कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि,’ उनले भने।

तथ्यहीन आरोपले कर्मचारीहरूको मनोबल कमजोर बनाउने भन्दै उनले छलफल र बहसका क्रममा शिष्टता तथा संस्थागत मर्यादाको ख्याल गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए।

उक्त बैठकमा सांसद खगेन्द्र सुनारसहित केही सांसदहरूले नेपाल प्रहरीमाथि विभिन्न आरोप लगाएका थिए। त्यसको जवाफ दिने क्रममा आईजीपी कार्कीले मर्यादित अभिव्यक्ति र तथ्यमा आधारित आलोचनाको आवश्यकता औंल्याएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।