काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले सिंहदरबार नेपालको इतिहास, शासन व्यवस्था र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण धरोहर भएकाले यसको नाम परिवर्तन गर्ने विषय उपयुक्त नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले इतिहास मेटाएर कुनै पनि देशले विकास र समृद्धि हासिल गर्न नसकेको उल्लेख गरे। उनले ऐतिहासिक धरोहर, संस्कृति र पहिचानको संरक्षण गर्दै आधुनिकतासँग जोडेर अघि बढ्नु नै राष्ट्र निर्माणको सही मार्ग भएको बताए।
“इतिहास मासेर देश बन्दैन, इतिहासको संरक्षण गरेर देश बन्छ। संसारका कुनै पनि देशले आफ्नो इतिहास मेटाएर विकास र समृद्धिको यात्रा तय गरेका छैनन्,” शाहीले भने, “बरु आफ्ना ऐतिहासिक धरोहर, संस्कृति र पहिचानलाई संरक्षण गर्दै त्यसलाई आधुनिकतासँग जोडेर विश्वसामु चिनाएका छन्।”
उनले सिंहदरबार केवल एउटा भवन वा सामान्य नाम नभई नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक पहिचानसँग गाँसिएको सम्पदा भएको धारणा व्यक्त गरे। इतिहासलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउनुपर्ने र त्यसलाई विश्वसामु गर्वका साथ प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।
शाहीले इतिहास नै नागरिकहरूको पहिचान भएको उल्लेख गर्दै पहिचानको संरक्षणमार्फत मात्रै समृद्ध नेपालको आधार निर्माण गर्न सकिने बताए।
उनको यो प्रतिक्रिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएपछि आएको हो। ढकालले आइतबार नेपालमा सिंह नभएकाले ‘सिंहदरबार’ नाम उपयुक्त नभएको तर्क गर्दै यसको नाम ‘अनामनगर दरबार’ राख्न सुझाव दिएका थिए।





Comment