ग्यासमा कालोबजारी रोक्न उपत्यकामा सादा पोसाकका प्रहरी परिचालन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको सूचना प्राप्त भएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ।

उद्योग मन्त्रालयका अनुसार भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा कृत्रिम अभाव देखाएर उपभोक्तालाई महँगोमा ग्यास बिक्री भइरहेको भन्दै मन्त्रालयमा लगातार गुनासा र सूचना प्राप्त भएका छन्। त्यसपछि उद्योगमन्त्री गौरी यादवले विषयमा चासो लिँदै निगरानी र अनुगमन कडा बनाउन पहल गरेका हुन्।

मन्त्री यादवले ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि अभावको हल्ला फैलाएर कालोबजारी भइरहेको भन्दै गृहमन्त्री सुधन गुरुङसँग अनुगमनमा प्रहरी प्रशासनको सहयोग मागेका थिए।

उनको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन र आवश्यकताअनुसार सादा पोसाकका प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।

सरकारले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि निगरानी बढाउने जनाएको छ। यस्ता गतिविधिमा संलग्न भेटिए कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न बजार अनुगमनलाई थप प्रभावकारी बनाइने उद्योग मन्त्रालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।