बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पश्चिम नेपालमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न २,५०० मेगावाट क्षमताको विद्युत् प्रवाह गर्न सक्ने बझाङ–बनलेक (पश्चिम सेती) ४०० केभी प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले आयोजना निर्माणका लागि विद्युत् विकास विभागमा अनुमति माग्दै आवेदन दिएको छ। विद्युत् ऐन, २०४९ को दफा ४ अनुसार आवश्यक विवरणसहित अनुमतिका लागि आवेदन पेश गरिएको हो।

प्रस्तावित प्रसारण लाइन बझाङको जयपृथ्वी नगरपालिका–१ मा निर्माण हुने चैनपुर सबस्टेसनदेखि डोटीको शिखर नगरपालिका–१० स्थित बनलेक (पश्चिम सेती) सबस्टेसनसम्म विस्तार हुनेछ। कुल ६० किलोमिटर लामो प्रसारण लाइनमार्फत पश्चिम क्षेत्रमा उत्पादन हुने विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गरिनेछ।

आयोजनाअन्तर्गत चैनपुरमा ४००/१३२ केभी तथा १६० एमभिए क्षमताको सबस्टेसन निर्माण गरिनेछ। त्यस्तै, बनलेक (पश्चिम सेती) मा ४००/१३२ केभी र ३१५ एमभिए क्षमताको सबस्टेसन निर्माण हुने योजना छ।

प्रसारण लाइनमा १४३ वटा डबल सर्किट टावर निर्माण गरिनेछन्। टावरको अधिकतम उचाइ ६१ मिटर रहनेछ भने टावरबीचको औसत दूरी ४०८.९९ मिटर रहनेछ। न्यूनतम दूरी १२७.७९ मिटरसम्म हुने जनाइएको छ।

आयोजना निर्माणका लागि कुल २९५.४२ हेक्टर जग्गा आवश्यक पर्नेछ। त्यसमध्ये ३०.४१ हेक्टर जग्गा टावर निर्माणका लागि प्रयोग हुनेछ भने प्रसारण लाइनको मार्गाधिकार क्षेत्रमा २६५ हेक्टर जग्गा पर्नेछ। सबस्टेसन निर्माणका लागि २१.४१ हेक्टर जग्गा आवश्यक पर्नेछ, जसमा बनलेक सबस्टेसनका लागि सात हेक्टर र चैनपुर सबस्टेसनका लागि १४.३७ हेक्टर जग्गा उपयोग गरिनेछ।

प्रसारण लाइनको मार्गाधिकार क्षेत्र ४६ मिटर चौडाइको रहनेछ। आयोजनाको निर्माण कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजना निर्माण तथा सञ्चालनका क्रममा भूक्षय, बाढी, वायु प्रदूषणलगायत वातावरणीय प्रभाव न्यून हुने गरी काम गरिने जनाइएको छ। यस सम्बन्धमा सरोकारवाला निकाय तथा स्थानीयवासीबाट सुझाव र सल्लाह प्राप्त गर्न विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।