काठमाडौँ । रोयल इन्फिल्डले ताइवानको प्रसिद्ध कस्टम मोटरसाइकल निर्माता रफ क्राफ्ट्ससँगको सहकार्यमा उत्पादन गरेको सीमित संस्करण शटगन ६५० रफ क्राफ्ट्स मोटरसाइकल विश्वभर पूर्ण रूपमा बिक्री भएको छ। भारतका लागि छुट्याइएका २५ वटा मोटरसाइकल बुकिङ खुलेको तीन मिनेटमै बिक्री भएका हुन्।
यो विशेष संस्करणको मोटरसाइकलको मूल्य भारतमा ५ लाख ७५ हजार भारु निर्धारण गरिएको थियो। विश्वभर जम्मा १०० वटा मात्र उत्पादन गरिएका यी मोटरसाइकलमध्ये प्रत्येकमा छुट्टै क्रम संख्या राखिएको छ। रोयल इन्फिल्डका अनुसार यसलाई खरिद गर्न विश्वभरबाट ९ हजारभन्दा बढी मोटरसाइकल पारखीले रुचि देखाएका थिए।
यो मोटरसाइकल पहिलो पटक इटालीको मिलानमा आयोजित ‘इक्मा २०२५’ मा प्रदर्शन गरिएको ‘क्यालिबर रोयल’ कस्टम मोटरसाइकलबाट प्रेरित भएर तयार गरिएको हो। ग्लोस जेट ब्ल्याक र म्याट स्टेल्थ ब्ल्याक रङको संयोजन, हातले बनाइएका सुनौलो धर्का, सुनौलो अपसाइड डाउन फर्क, कन्ट्रास्ट कट एलोइ ह्विल्स, बार–इन्ड मिरर तथा बुट्टेदार छालाको सिटले यसको आकर्षण बढाएको छ।
यसमा रफ क्राफ्ट्सको विशेष पित्तलको ब्याज र इन्धन ट्याङ्कीमा क्रम संख्या राखिएको छ। साथै, खरिदकर्ताले रफ क्राफ्ट्सका संस्थापक विन्स्टन येहले हस्ताक्षर गरेको सीमित संस्करणको कलाकृति पनि उपहारस्वरूप प्राप्त गर्नेछन्।
बाह्य डिजाइन विशेष भए पनि यसको इन्जिन भने मानक शटगन ६५० मोडलकै रहेको छ। यसमा ६४८ सीसीको प्यारलल–ट्विन, एयर तथा आयल–कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ४७ हर्सपावर र ५२.३ एनएम टर्क उत्पादन गर्छ। मोटरसाइकलमा ६–स्पीड गियरबक्स जडान गरिएको छ।
सबै १०० वटा मोटरसाइकल बिक्री भइसकेसँगै शटगन ६५० रफ क्राफ्ट्स रोयल इन्फिल्डका सार्वजनिक हुनेबित्तिकै ‘सोल्ड आउट’ हुने विशेष संस्करणको सूचीमा थपिएको छ।

Comment