काठमाडौं । सन् २०२६ को पहिलो सात महिनामा नेपालमा ६ लाख ९२ हजार २२८ जना विदेशी पर्यटक भित्रिएका छन्। अध्यागमन विभागको तथ्यांकअनुसार यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ६.८४ प्रतिशत अर्थात् ४४ हजार ३४६ जनाले बढी हो।
तथ्यांकअनुसार सात महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक मार्च महिनामा आएका छन्। मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल आएका थिए। सबैभन्दा कम पर्यटक जुलाई महिनामा भित्रिएका छन्, जहाँ ७१ हजार ७७५ जनाको आगमन भएको छ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जुलाई २०२६ मा नेपाल आउने विदेशी पर्यटकको संख्या गत वर्षको जुलाईको तुलनामा २.३ प्रतिशतले बढेको छ। सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए।
जुलाई महिनामा भारत नेपाल भ्रमण गर्ने पर्यटकको प्रमुख स्रोत मुलुक बनेको छ। उक्त महिनामा भारतबाट २३ हजार ४९० जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३२.७३ प्रतिशत हो।
चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। जुलाई २०२६ मा चीनबाट ११ हजार ९९ जना पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६१.०९ प्रतिशत बढी हो। सन् २०१९ को जुलाईमा चीनबाट १० हजार २१५ जना पर्यटक नेपाल आएका थिए। यससँगै चिनियाँ पर्यटक आगमन कोभिड–१९ अघिको स्तरभन्दा समेत माथि पुगेको देखिएको छ।
जुलाईमा अमेरिकाबाट ७ हजार ७५४ जना पर्यटक नेपाल आएका छन्। त्यस्तै बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ तथा अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।
क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै रहेको छ। जुलाईमा सार्क राष्ट्रहरूबाट २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ४१.४६ प्रतिशत हो। यद्यपि यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ११.९३ प्रतिशतले कम हो।
भुटानबाट ९९१, पाकिस्तानबाट ४७५, श्रीलंकाबाट ५८१ तथा माल्दिभ्सबाट ३९ जना पर्यटक नेपाल आएका छन्।
दक्षिण एसियाबाहेक अन्य एसियाली मुलुकबाट जुलाईमा १७ हजार ४२४ जना पर्यटक नेपाल आएका छन्। यो कुल आगमनको २४.२८ प्रतिशत हो। अघिल्लो वर्षको तुलनामा यस क्षेत्रमा ३३.०५ प्रतिशत वृद्धि भएको छ।
यस समूहमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसियाबाट १ हजार ३८०, जापानबाट १ हजार १११, भियतनामबाट ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक नेपाल आएका छन्।
युरोपबाट जुलाईमा ९ हजार २७९ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२.९३ प्रतिशत हो। बेलायत, जर्मनी, स्पेन, फ्रान्स, नेदरल्यान्ड्स, पोर्चुगल र रूस प्रमुख स्रोत मुलुकका रूपमा रहेका छन्।
त्यसैगरी अमेरिकी महादेशबाट ८ हजार ८२४, ओसियानियाबाट २ हजार ६०७, मध्यपूर्वबाट ७३६ तथा अफ्रिकी मुलुकबाट ३२४ जना पर्यटक नेपाल आएका छन्।
पर्यटन बोर्डका अनुसार चिनियाँ पर्यटक आगमनमा देखिएको तीव्र वृद्धि र समग्र पर्यटक आगमनमा भएको सकारात्मक सुधारले नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको दिशामा अघि बढिरहेको संकेत गरेको छ।

Comment