काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई पद, शक्ति र सत्ताको प्रतिस्पर्धामा सीमित नगरी नागरिकको सेवा र समाज रूपान्तरणको प्रभावकारी माध्यमका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै थापाले पछिल्लो समय राजनीतिमा सेवा भावभन्दा सत्ता केन्द्रित सोच हाबी हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे।
उनले राजनीति लोकतान्त्रिक समाजमा सबैभन्दा ठूलो सार्वजनिक उत्तरदायित्व भएको उल्लेख गर्दै राज्य सञ्चालनको अधिकार नागरिकको जीवनस्तर सुधार, मानव सेवा र सार्वजनिक हितका लागि प्रयोग हुनुपर्ने धारणा राखे। शक्ति र सत्ता आफैंमा अन्तिम लक्ष्य नभई जनताको हितमा काम गर्ने माध्यम हुनुपर्ने उनको भनाइ थियो।
थापाले नेपाली कांग्रेसको स्थापना नागरिक अधिकार, लोकतन्त्र र जनसेवाको उद्देश्यबाट भएको स्मरण गराउँदै पार्टीले आफ्नो मूल आदर्शलाई समयानुकूल अझ सुदृढ बनाउनुपर्ने बताए।
उनले संस्थापक नेताहरूले पद र शक्तिको आकांक्षाभन्दा राष्ट्रिय हित र जनकल्याणलाई प्राथमिकतामा राखेर राजनीतिक अभियान अघि बढाएको उल्लेख गरे।
उनका अनुसार बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिवेशसँगै राजनीतिक दलहरूले नयाँ चुनौती र जनअपेक्षालाई सम्बोधन गर्न सक्षम हुनुपर्छ। त्यसका लागि संगठन सुदृढीकरणसँगै नीति निर्माण, अध्ययन, अनुसन्धान र नेतृत्व विकासलाई समान महत्व दिन आवश्यक रहेको उनले बताए।
थापाले पार्टीभित्र वैचारिक बहस, प्रशिक्षण र नीतिगत छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै यस्ता गतिविधिले संगठनलाई केवल निर्वाचन केन्द्रित नभई विचार, मूल्य र जिम्मेवारीमा आधारित संस्थाका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रम आयोजना गरेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यशैलीको प्रशंसा गर्दै उनले प्रतिष्ठानले पार्टीका समसामयिक विषयलाई अध्ययन र प्रशिक्षणसँग जोडेर अघि बढाएको बताए। नियमित सांगठनिक गतिविधिसँगै वैचारिक तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि समान प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
थापाले लोकतान्त्रिक राजनीतिको विश्वसनीयता जनताप्रतिको उत्तरदायित्व, सेवा भावना र सुशासनबाट स्थापित हुने उल्लेख गर्दै राजनीतिक दलहरूले यही मूल मान्यतालाई केन्द्रमा राखेर आगामी यात्रा तय गर्नुपर्ने धारणा व्यक्त गरे।

Comment