काठमाडौँ । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षले आगामी २९ साउनमा राष्ट्रिय भेला आयोजना गर्ने तयारीलाई अन्तिम रूप दिएको छ। चुनदेवीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका पूर्वमहामन्त्री शशांक कोइरालाले ३१ साउनसम्म राष्ट्रिय भेलासम्बन्धी सम्पूर्ण तयारी सम्पन्न गरिने जानकारी दिए।
कोइरालाका अनुसार राष्ट्रिय भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता शेखर कोइरालासमेत सहभागी हुनेछन्। भेलाको व्यवस्थापन तथा सञ्चालनका लागि शशांक कोइरालाकै नेतृत्वमा ५५१ सदस्यीय समिति गठन गरिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले राष्ट्रिय भेलाप्रति शेखर कोइरालाको पूर्ण सहमति रहेको बताए। “उहाँले मेरो सहमति छ, व्यस्त भएकाले पत्रकार सम्मेलनमा आउन सकिनँ भनेर क्षमा माग्नुभएको छ,” उनले भने।
२७ पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएको देउवा र शेखर पक्षले पार्टी एकताको अन्तिम प्रयास जारी राखे पनि अब राष्ट्रिय भेलामार्फत नयाँ कार्यदिशा तय गर्नुपर्ने अवस्था आएको जनाएको छ। कोइरालाले पार्टी सभापति गगन थापा एकताप्रति अनिच्छुक देखिएपछि वैकल्पिक राजनीतिक तथा संगठनात्मक मार्ग तय गर्नुपर्ने आवश्यकता महसुस भएको बताए।
देउवा पक्षमा पूर्वउपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, पूर्वउपसभापति विमलेन्द्र निधि तथा विजयकुमार गच्छदारलगायत वरिष्ठ नेताहरू आबद्ध छन्।
यसअघि बीपी स्मृति दिवसका अवसरमा ६ साउनमा कांग्रेसको इतर समूहले राष्ट्रिय भेलाको घोषणा गरेको थियो। उक्त भेलालाई पार्टीभित्रको आगामी राजनीतिक दिशा र संगठनात्मक रणनीति निर्धारणका लागि महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Comment