काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी घटनाप्रति सरकारले अपेक्षित गम्भीरता नदेखाएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ घटनाप्रति संवेदनशील नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आङ्देम्बेले बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाइएको जानकारी दिए।
“सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ किन उपस्थित हुनुभएन भनेर प्रश्न गरेका छौँ,” उनले भने, “सरकार किन स्टाटसमा मात्र भेटिएको छ? सरकार किन घटनास्थलमा उपस्थित हुन सकेको छैन?”
आङ्देम्बेले सुनसरी घटनाले सामाजिक सद्भावमा असर पुर्याएको उल्लेख गर्दै यस्तो अवस्थामा राज्यले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए। साथै, सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूले पनि जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
उनका अनुसार सर्वदलीय बैठकमा सुनसरी घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने विषयमा छलफल भएको थियो।
बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले घटनालाई जिम्मेवारीपूर्वक सम्बोधन गर्न र प्रभावित क्षेत्रमा विश्वासको वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेका थिए।
सुनसरी घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन तथा सामाजिक सद्भाव कायम राख्न सरकार थप सक्रिय हुनुपर्नेमा बैठकमा सहभागी दलहरूबीच साझा धारणा बनेको आङ्देम्बेले बताए।

Comment