काठमाडौं । एनएमबी बैंकले दोलखा र रामेछाप जिल्लाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ। ९ मेगावाट क्षमताको उक्त आयोजना वन्डर्स इनर्जीले निर्माण गरिरहेको छ।
आयोजनाका लागि ऋण लगानी सम्बन्धी सम्झौता मंगलबार सम्पन्न भएको हो। सम्झौतापत्रमा एनएमबी बैंकका सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल तथा वन्डर्स इनर्जीका प्रबन्ध निर्देशक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन्।
दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सिमानाबाट बग्ने खिम्ती–घ्वाङ खोलामा निर्माण भइरहेको आयोजनाको निर्माण कार्य २०८४ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति गत वैशाख १५ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत प्राप्त भइसकेको छ। साथै, आवश्यक निजी जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँचमार्ग निर्माण, गोदाम तथा आवास गृह निर्माण लगायतका पूर्वाधार तयारीका काम सम्पन्न भइसकेका छन्।
आयोजनाको सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल निर्माणसम्बन्धी ठेक्का सम्झौता सम्पन्न भइसकेको र हालसम्म करिब ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ।
आयोजना निर्माणका लागि कुल १ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। त्यसमध्ये १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानीका लागि एनएमबी बैंकसँग सहमति भएको हो। बाँकी ५६ करोड रुपैयाँमध्ये ३५ करोड रुपैयाँ जुटिसकेको र बाँकी रकम आगामी असोजभित्र व्यवस्थापन गर्ने तयारी भइरहेको प्रबन्ध निर्देशक प्रकाश चन्द्र दुलालले जानकारी दिए।
गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको उक्त आयोजना सामाजिक तथा वातावरणीय मापदण्डका दृष्टिले पनि विशेष मानिएको छ। कम्पनीका अनुसार ‘हाइड्रो सेलेक्ट टुल’ प्रयोग गरी अन्तर्राष्ट्रिय सामाजिक तथा वातावरणीय मापदण्ड पूरा गरेर निर्माण हुने नेपालका निर्माणाधीन जलविद्युत् आयोजनामध्ये यो पहिलो आयोजना हुनेछ।

Comment