काठमाडौं । असार १५ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापा ले किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरताको आवश्यकता औँल्याउँदै शुभकामना सन्देश दिएका छन्।
शुभकामना सन्देशमा थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषि राष्ट्रको सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गरेका छन्। उनले खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने किसानप्रति उच्च सम्मान व्यक्त गर्दै असार १५ लाई किसानको श्रम, संघर्ष, आशा र आत्मनिर्भरताको उत्सवका रूपमा वर्णन गरेका छन्।
थापाले संविधानले प्रत्येक नागरिकको खाद्य सम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेकाले धान उत्पादन वृद्धि गर्नु केवल कृषि कर्म मात्र नभई संविधानको मर्म कार्यान्वयनसँग समेत जोडिएको विषय भएको बताएका छन्। तर, किसानले हरेक वर्ष बीउ, मल, सिँचाइ तथा उत्पादनको उचित मूल्यको अभाव झेल्नुपरेको र धान खेती अझै पनि वर्षामा निर्भर रहनु परेको यथार्थप्रति उनले सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थप चुनौती बढ्दै गएको पनि उनले उल्लेख गरेका छन्।
यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ लाई स्मरण गर्दै थापाले वातावरणमैत्री तथा आधुनिक कृषि प्रविधिको विस्तार आवश्यक रहेको बताएका छन्। उनका अनुसार प्रविधिको सही प्रयोगबाट उत्पादन वृद्धि गर्दै चामल आयातमा निर्भरता घटाउन सकिन्छ।
उनले सिँचाइ विस्तार, उन्नत बीउ, गुणस्तरीय मल, भण्डारण सुविधा तथा किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। साथै, कृषिलाई सम्मानित, मर्यादित र आकर्षक पेशाका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता पनि औँल्याएका छन्।
सन्देशको अन्त्यमा थापाले राष्ट्रिय धान दिवसले अन्नदाता किसानप्रतिको सम्मान सुदृढ गर्दै खाद्य सुरक्षा र कृषि समृद्धिको दिशामा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

Comment