चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा सम्बोधन गर्दै रास्वपा नेपालको राजनीतिक इतिहासको नयाँ अध्याय लेख्न आएको बताएका छन्।
महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट नभई देशमा लामो समयदेखि सञ्चित निराशा र सकारात्मक परिवर्तनको आकांक्षाबाट जन्मिएको पार्टी भएको स्पष्ट पारे।
वाग्लेले विगतका आन्दोलनले लोकतन्त्र स्थापना गरे पनि लोकतन्त्रको संस्थागत गुणस्तर अपेक्षित रूपमा विकसित हुन नसकेको टिप्पणी गरे। उनले निर्वाचन भए पनि उत्तरदायित्व कमजोर रहेको, संविधान बने पनि संस्थाहरू बलियो हुन नसकेको तथा राज्यको क्षमता र सेवा प्रवाह अपेक्षित रूपमा सुधार हुन नसकेको बताए।
उनले नेपालका प्रमुख समस्या स्रोतको अभाव नभई गलत प्रोत्साहन संरचना भएको उल्लेख गर्दै राजनीतिक, आर्थिक र प्रशासनिक प्रणालीमा व्यापक सुधार आवश्यक रहेको धारणा राखे।
उपसभापति वाग्लेले रास्वपाले केवल सरकार परिवर्तन होइन, राजनीतिक संस्कार परिवर्तन गर्ने लक्ष्य लिएको बताउँदै भागबण्डाबाट मेरिटोक्रेसी, पहुँचमुखी व्यवस्थाबाट प्रतिस्पर्धात्मक प्रणाली र विद्रोहबाट निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।
उनले रास्वपालाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै नयाँ पुस्ताले प्रश्न मात्र होइन, उत्तर दिन सक्ने क्षमता पनि देखाउनुपर्ने बताए।
वाग्लेले उदार लोकतन्त्र, प्रतिस्पर्धात्मक अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्य निर्माण रास्वपाको प्रमुख दृष्टिकोण रहेको स्पष्ट पारे।
उनका अनुसार यस्तो नेपाल चाहिन्छ जहाँ अवसर पहुँचमा होइन क्षमतामा आधारित होस्, युवाले देश छोड्नुपर्ने बाध्यता नहोस् र नागरिकले राज्यलाई भरोसायोग्य साथीका रूपमा अनुभव गर्न सकून्।
महाधिवेशनलाई राजनीतिक पुनर्जागरणको सुरुवातका रूपमा चित्रण गर्दै उनले निराशालाई आशामा, आक्रोशलाई निर्माणमा र विद्रोहलाई रूपान्तरणमा बदल्दै अघि बढ्नुपर्ने आह्वान गरे।

Comment