काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्यटन विभाग प्रमुख सुमन विक्रम पाण्डेले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। यही असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने रास्वपाको केन्द्रीय महाधिवेशनमा उनले उक्त पदका लागि निर्वाचन लड्ने तयारी गरेका हुन्।
नुवाकोटको विदुर नगरपालिका–२ मा जन्मिएका पाण्डे नेपालका अनुभवी पर्यटन व्यवसायीमध्ये एक मानिन्छन्। करिब ३८ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय उनी ट्राभल, ट्रेकिङ, हवाई सेवा तथा नागरिक उड्डयनलगायत विभिन्न विधामा संलग्न रहँदै आएका छन्।
पर्यटन क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका पाण्डेले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष, एयरलाइन्स एसोसिएसन अफ नेपाल (आवान) को महासचिव तथा नेपाल पर्यटन बोर्डको सदस्यका रूपमा काम गरेका छन्। उनी नेपाल पर्यटन वर्ष २०११ को कार्यसमिति सदस्य समेत रहेका थिए।
त्यसैगरी, उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको अध्यक्षका रूपमा नेतृत्व गरेका थिए। प्यासिफिक एसिया ट्राभल एसोसिएसन अन्तर्राष्ट्रिय मुख्यालयमा समेत उनले चार वर्ष कोषाध्यक्ष र सचिव तथा दुई वर्ष उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। पर्यटन क्षेत्रमा उनको दीर्घ योगदानको कदरस्वरूप प्यासिफिक एसिया ट्राभल एसोसिएसनले उनलाई हालै आजीवन सदस्यता सम्मान प्रदान गरेको छ।
राजनीति र पर्यटनसँगै सामाजिक तथा वातावरणीय क्षेत्रमा पनि पाण्डे सक्रिय छन्। नुवाकोटमा सञ्चालन गरिएको ‘हरियो नुवाकोट’ अभियानमार्फत करिब डेढ लाख सुन्तला, कागती र एभोकाडोका बिरुवा कृषकहरूलाई वितरण गरी उनले आयआर्जन वृद्धि तथा वातावरण संरक्षणमा योगदान पुर्याएका छन्।
व्यवसायसँगै पाण्डे राजनीतिक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार बनेका उनी १६ हजार ४७७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका थिए।
हाल रास्वपाको पर्यटन विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका पाण्डेले पार्टीभित्र नीति निर्माण, संगठन सुदृढीकरण तथा पर्यटन क्षेत्रको अनुभवलाई संस्थागत गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताएका छन्।
पर्यटन, संगठन, अन्तर्राष्ट्रिय अनुभव, सामाजिक सेवा र वातावरण संरक्षणका क्षेत्रमा लामो अनुभव भएका पाण्डेको उम्मेदवारीलाई पार्टी महाधिवेशनमा विशेष चासोका साथ हेरिएको छ। पार्टीभित्र नयाँ सोच, व्यावसायिक दक्षता र परिणाममुखी नेतृत्वको आवश्यकता बढिरहेका बेला उनको सहभागिताले केन्द्रीय नेतृत्वमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ।

Comment