काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ले पछिल्लो समय आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, निर्माण व्यवसायी र बैंकिङ क्षेत्रका उच्च पदस्थ अधिकारीमाथि भइरहेको पक्राउप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाउनुका साथै मुलुकको समग्र लगानी वातावरणमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको हो ।
महासंघका अनुसार अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका निजी क्षेत्रका नेतृत्वदायी व्यक्तिहरूलाई फौजदारी कसूरको शैलीमा पक्राउ गर्दा स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रास र असुरक्षाको सन्देश गएको छ । विशेषगरी बैंक तथा वित्तीय क्षेत्रका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई पक्राउ गर्ने घटनाले बैंकिङ प्रणालीको विश्वसनीयतामै असर पुग्ने र कर्जा प्रवाह संकुचित हुन सक्ने महासंघको भनाइ छ ।
विज्ञप्तिमा अनुसन्धान प्रक्रिया तथ्य र प्रमाणमा आधारित हुनुपर्ने उल्लेख गर्दै प्रारम्भिक अनुसन्धान नै नगरी व्यवसायीहरूलाई पक्राउ गर्ने तथा ‘मिडिया ट्रायल’ गर्ने प्रवृत्तिले व्यक्तिको मान–प्रतिष्ठामा अपूरणीय क्षति पुग्ने बताइएको छ ।
महासंघले उद्योगी–व्यवसायीसम्बन्धी देवानी दायित्वका मुद्दालाई फौजदारी शैलीमा प्रस्तुत गर्नु उचित नहुने उल्लेख गर्दै अनुसन्धानलाई गोप्य, निष्पक्ष र कानुनी प्रक्रिया अनुरूप अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।
नेपालको संविधानले प्रत्याभूत गरेको “कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने” सिद्धान्तको स्मरण गराउँदै महासंघले निजी क्षेत्रप्रति संवेदनशील व्यवहार अपनाउन सरकारलाई अनुरोध गरेको छ ।
महासंघले विगत चार वर्षदेखि शिथिल रहेको अर्थतन्त्र अहिले पुनः चलायमान हुने अपेक्षा निजी क्षेत्रले गरेको भए पनि पछिल्ला घटनाक्रमले व्यवसायीको आत्मविश्वास कमजोर बनाएको जनाएको छ ।
“लगानीको वातावरण सुरक्षित नभए आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र निजी क्षेत्रको लगानी वृद्धि प्रभावित हुन सक्छ,” महासंघको निष्कर्ष छ ।
महासंघले सरकारलाई लगानीमैत्री वातावरण निर्माण, कानुनी सुनिश्चितता कायम र निजी क्षेत्रको मनोबल उच्च बनाउने दिशामा स्पष्ट नीति तथा व्यवहार अपनाउन आग्रह गरेको छ ।


Comment