काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे ले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदमा लोकतन्त्र र खुला बहसको संस्कृतिअनुसार सरकार प्रस्तुत हुन नसकेको आरोप लगाए । उनले सरकार जनतासँग प्रत्यक्ष संवाद गर्नभन्दा सामाजिक सञ्जालमा सीमित भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले भने, “नसुनिने संवेदनशीलहीन शैली संसदमा लोकतन्त्र र यसको खुला बहसशैली अनुकूल देखिएन । सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि सुखद लागिरहेको छैन ।”
आङ्देम्बेले नेपाली कांग्रेस ठूलो गफ गर्ने तर परिणाम दिन नसक्ने शैलीको पक्षमा नरहेको पनि बताए । लोकतान्त्रिक सरकार र नेताको पहिलो कर्तव्य जनतासँग खुला रूपमा बहस गर्नु रहेको उल्लेख गर्दै उनले लोकतन्त्र बन्द कोठाको शासन नभई खुला र सरल प्रक्रिया भएको धारणा राखे ।
उनले सरकारले लोकप्रियतावादी घोषणामात्रै गर्ने गरेको आरोप लगाउँदै जनताप्रति सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए ।

Comment