यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता आएको उक्त अध्यादेश पुनः स्वीकृतिका लागि पठाउने निर्णय गरिएको हो।

रामचन्द्र पौडेलले यसअघि उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए। अब मन्त्रिपरिषद्को निर्णयअनुसार सो अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ।

बैठकले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। उक्त सहयोग औद्योगिक क्षेत्रमा परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न र वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्न प्रयोग गरिने जनाइएको छ।

यसैगरी, भारतसँग जीटूजी (सरकार–सरकार) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।

मन्त्रिपरिषद्ले संसद भवन परिसरमा प्रवेश व्यवस्थापनसम्बन्धी विषय समावेश गर्दै सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

सरकारले सार्वजनिक गरेका मुख्य निर्णयहरू यसप्रकार छन्:
– विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदान स्वीकार गर्ने
– भारतसँग जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने
– सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने
– संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।