ग्यालेक्सी प्याकेजिङको कारोबार १ अर्ब ८४ करोड नाघ्यो, २५ प्रतिशत वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। ग्यालेक्सी प्याकेजिङ प्रा.लि.ले गत आर्थिक वर्षमा उल्लेखनीय व्यापार वृद्धि गर्दै १ अर्ब ८४ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार करिब २५ प्रतिशतले बढेको हो।

कम्पनीले सन् २०२४ मा १ अर्ब ४३ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। फास्ट मुभिङ कन्जुमर गुड्स (FMCG) क्षेत्रको माग बढेसँगै प्याकेजिङ सामग्रीको बिक्रीमा वृद्धि हुँदा कम्पनीको व्यापार विस्तार भएको जनाएको छ।

नाफातर्फ भने कम्पनीले गत आवमा ११.४७ प्रतिशत नाफा आर्जन गरेको छ, जुन सन् २०२४ को १२.८४ प्रतिशतको तुलनामा केही घटेको हो। यद्यपि चालू आर्थिक वर्षका लागि १ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको सामग्री बुकिङ भइसकेको कम्पनीले जनाएको छ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका र्यापर तथा प्याकेजिङ सामग्री उत्पादन गर्दै आएको छ। बारा जिल्लाको बहुवारीमा रहेको उद्योगले वार्षिक करिब ७ हजार मेट्रिक टन उत्पादन क्षमता राखेको छ।

कम्पनीका अनुसार उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशी तथा भारतबाट आयात गरिन्छ। विशेषगरी प्लास्टिकजन्य कच्चा पदार्थ भारतबाट आयात हुने गरेको छ। स्वदेशी उत्पादनले माग धान्न नसक्ने भएकाले आयातमा निर्भर रहनुपरेको कम्पनीको भनाइ छ। गत आर्थिक वर्षमा कुल कच्चा पदार्थमध्ये करिब ९२ प्रतिशत आयात गरिएको थियो।

कम्पनीका प्रबन्ध निर्देशक अमितकुमार झुनझुनवाला रहेको ग्यालेक्सी प्याकेजिङले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १ अर्ब ९५ करोड २२ लाख रुपैयाँको रेटिङ गराएको छ। जसमध्ये २८ करोड ७२ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।