अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ। सोही क्रममा शनिबार महानगरभित्रका विभिन्न तीन स्थानमा रहेका बस्ती खाली गरिएका छन्।

महानगरपालिका–११ स्थित थापाथलीको वाग्मती नदी किनार, वडा नं ९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्ती हटाइएको काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ। सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका अस्थायी तथा स्थायी संरचनाहरू डोजर प्रयोग गरेर भत्काइएको महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।

उनका अनुसार थापाथली क्षेत्रमा पक्की संरचना कम भएकाले हटाउने काम छिटो सम्पन्न भएको थियो। तर गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा पक्की घरको संख्या बढी रहेकाले भत्काउने कार्य राति अबेरसम्म सञ्चालन गरिएको थियो।

सरकारको निर्देशनअनुसार सञ्चालन गरिएको अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। टोलीले प्रभावित बासिन्दालाई सुरक्षित रूपमा स्थानान्तरण गर्न तथा सरसामान सार्न सहयोग गरेपछि मात्र संरचना भत्काउने काम अघि बढाइएको थियो।

यद्यपि, बस्ती हटाइएपछि भत्काइएका संरचनाका सामग्री अझै पनि सम्बन्धित क्षेत्रमा छरिएर रहेकाले आवागमनमा समस्या भएको स्थानीयले गुनासो गरेका छन्। महानगरले भने ती सामग्री हटाउने तथा क्षेत्र सफा गर्ने काम क्रमशः अघि बढाइने जनाएको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार उपत्यकाका विभिन्न अतिक्रमित क्षेत्रमा ठूलो संख्यामा सुकुमवासी परिवार बसोबास गर्दै आएका थिए। तथ्याङ्कअनुसार थापाथलीमा १४३, गैरीगाउँमा १६२, गोठाटारमा ७७, शान्तिनगरमा ४७६ तथा मनोहरा टोलमा १३ गरी कुल ८७१ परिवार बस्दै आएका छन्।

सरकारले सार्वजनिक जग्गाको संरक्षण, नदी किनार क्षेत्रको व्यवस्थापन, सहरी सौन्दर्यीकरण तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै दीर्घकालीन सहरी व्यवस्थापनका उद्देश्यसहित अभियान अघि बढाएको जनाएको छ।

तर, बस्ती हटाउने कार्यसँगै प्रभावित परिवारको पुनःस्थापना र व्यवस्थापनको विषयमा विभिन्न पक्षबाट चासो व्यक्त हुन थालेको छ। सरोकारवाला निकायहरूले दीर्घकालीन समाधानका लागि वैकल्पिक व्यवस्थित बसोबासको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

यसैबीच, काठमाडौँका थापाथली, गैरीगाउँ र सिनामङ्गल क्षेत्रमा बस्ती हटाउने क्रममा कुनै अवरोध वा झडप नभए पनि भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा भने स्थानीयले अवरोध गरेका थिए। अवरोधका क्रममा सुरक्षाकर्मीमाथि ढुंगा, इँटा र बोतल प्रहार हुँदा २२ जना सुरक्षाकर्मी घाइते भएका छन्।

घाइते हुनेमा मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित ११ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नं २२ दुवाकोटबाट खटिएका थप ११ जना सशस्त्र प्रहरी रहेका छन्। घाइतेहरूको उपचार भइरहेको र अवस्था सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।