काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकार प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
देशको अर्थतन्त्र उकास्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रका लागि सुरक्षित र विश्वासिलो वातावरण अझै नबनेको बताए।
“सरकारले विभिन्न क्षेत्रमा सुधारका प्रयास गरे पनि निजी क्षेत्रको संरक्षणको सवालमा अपेक्षित काम हुन सकेको छैन,” उनले भने, “निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न सक्ने र ढुक्क भएर लगानी गर्ने वातावरण अझै तयार भएको छैन। प्रदर्शनका नाममा गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहिनता मौलाउने हो कि भन्ने चिन्ता बढेको छ।”
जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते अराजक गतिविधि मच्चाउनेहरूमाथि कारबाही नहुनु चिन्ताको विषय भएको ढकालको भनाइ थियो। उनले यसले निजी क्षेत्रलाई दण्डहिनता मौलाउने त्रासमा राखेको बताए।
निजी क्षेत्रमाथि भएको आक्रमण, आगजनी तथा तोडफोडले लगानीको वातावरणमा प्रतिकूल असर परेको उल्लेख गर्दै अध्यक्ष ढकालले यसले रोजगारी सिर्जना र मुलुकको समृद्धिको यात्रामा समेत नकारात्मक प्रभाव पार्ने चेतावनी दिए।
“आन्दोलनका नाममा निजी क्षेत्र निसानामा पर्दैन भन्ने प्रत्याभूति सरकारले अझै दिन सकेको छैन,” उनले भने, “निजी क्षेत्र अहिलेको जस्तो कमजोर र न्यून मनोबलको अवस्थामा यसअघि कहिल्यै पुगेको थिएन।”
उनले व्यापार, व्यवसाय र उद्योग सञ्चालन गर्न चाहने लगानीकर्तालाई सबै राजनीतिक दल तथा सरकारले स्थिर, सुरक्षित र अनुकूल वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिए।

Comment