सिद्धार्थ बैंकको नाफासँगै लाभांश क्षमतामा सुधार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । व्यवसाय विस्तार र ब्याज असुलीमा सुधारसँगै सिद्धार्थ बैंकको नाफा गत आर्थिक वर्षमा उल्लेख्य बढेको छ। सम्भावित कर्जा नोक्सानीको लागि गरिएको प्रोभिजन वृद्धि भए पनि आम्दानी वृद्धिका कारण बैंकको नाफा र लाभांश क्षमतामा दुवैमा सुधार आएको हो।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ३९ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो वर्षको ३ अर्ब ८ करोड रुपैयाँ नाफाको तुलनामा यो १०.२४ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने खुद फी तथा कमिसन आम्दानी १५.०९ प्रतिशतले बढेर १ अर्ब ६४ करोड १५ लाख पुगेको छ। नेट ट्रेडिङ आम्दानी ४२ करोड ४२ लाख र अन्य सञ्चालन आम्दानी ६५ करोड १२ लाख रुपैयाँ पुगेको छ। यससँगै बैंकको कुल सञ्चालन आम्दानी ११.८२ प्रतिशतले बढेर ११ अर्ब १५ करोड ६८ लाख रुपैयाँ भएको छ।

सम्भावित कर्जा नोक्सानीको लागि प्रोभिजन १ अर्ब ५ करोड ११ लाखबाट बढेर १ अर्ब ३१ करोड ५४ लाख पुगे पनि बैंकको सञ्चालन नाफा ५ अर्ब २ करोड ९९ लाख पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ८४ करोड ४५ लाखभन्दा बढी हो। प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८६ पैसाबाट बढेर २४ रुपैयाँ १० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ १९ पैसा पुगेको छ।

वितरणयोग्य नाफा अघिल्लो वर्षको ५८ करोड रुपैयाँबाट तीन गुणा बढ्दै १ अर्ब ८६ करोड २८ लाख रुपैयाँ पुगेको छ। यसबाट बैंकको लाभांश क्षमता १३.२२ प्रतिशत भएको छ। म्युचुअल फण्ड र अन्य इक्वीटी लगानीबाट ४७ करोड ९९ लाख रुपैयाँ, विगतमा उठ्न नसकेको ३३ करोड १७ लाख ब्याज उठेर र गैरबैंकिङ सम्पत्ति बिक्रीबाट ९ करोड ७२ लाख ट्रान्सफर भई वितरणयोग्य नाफा बढेको हो।

बैंकको निक्षेप २ खर्ब ४१ अर्ब ३३ करोड रुपैयाँबाट बढेर २ खर्ब ८० अर्ब ३२ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ९५ अर्ब ४७ लाखबाट बढेर २ खर्ब १४ अर्ब ५४ करोड पुगेको छ। १४ अर्ब ९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडाकोष १५ अर्ब ४ करोड १४ लाख र सञ्चित नाफा १ अर्ब ८६ करोड २८ लाख रुपैयाँ पुगेको छ।

वित्तीय सूचकांकमा समेत सुधार भएको छ। बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.८८ प्रतिशत, कुल पुँजीकोष अनुपात २.६२ प्रतिशत, खुद निष्क्रिय कर्जा ०.६६ प्रतिशत, आधार दर ६.४२ प्रतिशत र मूल्य-आम्दानी अनुपात १५.९३ गुणा पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।