रसुवा अपडेट: बाढीमा फसेकाहरूको उद्धार गर्न खटिएका ३ प्रहरी पनि बेपत्ता (नामावली)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मंगलबार बिहान ३ बजे आएको भोटेकोसी नदीको भीषण बाढीमा ३ प्रहरीसहित १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १२ नेपाली नागरिक र ६ चिनियाँ नागरिक छन् भने उनीहरूमध्ये केहीको पहिचान अझै खुल्न बाँकी छ।

रसुवा प्रहरीले दिएको जानकारीअनुसार उद्धारका लागि खटिएका इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा बाढीमा बेपत्ता भएका हुन्।

बाढीपछि सुरु गरिएको उद्धार कार्यबाट हालसम्म १ जना नेपाल प्रहरी, १ जना सशस्त्र प्रहरी र ७ जना स्थानीय नागरिकलाई सकुशल उद्धार गरिएको छ।

भारी वर्षाले चीनको सीमाक्षेत्रबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ, जसका कारण मंगलबार बिहान ४ बजेदेखि दुई देशबीचको आवतजावत पूर्णरूपमा बन्द भएको छ।

बाढीका कारण ईभी चार्जिङ स्टेसनमा रहेका करिब ७–८ वटा गाडी बगाएको, रसुवा भन्सार कार्यालयको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा समेत क्षति पुगेको छ।

सुरक्षा निकायहरूले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्य तीव्र पारिरहेका छन् भने घटनास्थलमा थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले नागरिकहरूलाई नदी आसपास सतर्क रहन अनुरोध गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।