नुवाकोट। लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानका अवसरमा नुवाकोटको ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ। आदिइत्यादि समूहको प्रस्तुतिमा तयार नाटकले विद्यालय तथा समुदायमा लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहकार्यमा नाटक महेन्द्र माध्यमिक विद्यालय, चतुराले र भवानी माध्यमिक विद्यालय, ककनीमा प्रदर्शन गरिएको थियो। करिब ५० मिनेटको नाटकमा घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, मानसिक यातना तथा डिजिटल युगमा बढ्दो साइबर बुलिङजस्ता विषयवस्तु समेटिएका छन्।
ककनी गाउँपालिका उपाध्यक्ष मिठ्ठु माया तामाङले कलाले समाजमा परिवर्तन ल्याउने शक्तिमा जोड दिँदै भनिन्, “हिंसा सहने होइन, आवाज उठाउने हो। ‘आह्वान’ नाटकले सबैलाई हिंसाविरुद्ध एकजुट हुन प्रेरित गरोस् भन्ने हाम्रो अपेक्षा हो।”
महेन्द्र मावि चतुरालेका प्रधानाध्यापक शशि कुमार थपलियाले सडक नाटकले ठूलो संख्यामा सन्देश पुर्याउन प्रभावकारी भूमिका खेल्ने उल्लेख गर्दै विद्यार्थीको सामाजिक संवेदनशीलता बढाउन मद्दत पुगेको बताए।
महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कविता काफ्लेले कानुनी प्रावधानसँगै सामाजिक चेतनाको आवश्यकता औंल्याउँदै विद्यालयमा गरिएको यस्तो प्रस्तुति अत्यन्तै प्रभावकारी रहेको बताइन्। वडा नं. ४ का वडा अध्यक्ष सोनाम लामाले नाटकले समुदायका सदस्यलाई हिंसाविरुद्ध एकजुट हुन प्रेरित गरेको प्रतिक्रिया दिएका छन्।
शिक्षिका लक्ष्मी अधिकारी तथा स्थानीय शिक्षक एवं कवि सन्तोष सरिलले पनि नाटकले विद्यार्थी र समुदायमा गहिरो चेतना फैलाएको बताए।
पुरु लम्सालको लेखन तथा निर्देशन रहेको ‘आह्वान’ नाटकमा सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, निस्सोम मगर, अन्जना दुलाल, अन्जु खड्का र सन्ध्या नेपालको अभिनय रहेको छ।

Comment