काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशालाई इमान्दार बनाउँदै दिगो र विश्वसनीय बनाउने गरी काम गर्न बीमकहरूलाई निर्देशन दिएका छन्। विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा ऐन, नियम तथा निर्देशिकाको पालना गर्दै जोखिमको सही मूल्याङ्कनका आधारमा व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको बताए।
कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूसँगको छलफलमा अध्यक्ष ओझाले बीमा व्यवसायका राम्रा र कमजोर पक्ष पहिचान गरी सकारात्मक पक्षलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले नागरिकले बीमा गरेपछि दाबी भुक्तानी पाउनुपर्ने स्पष्ट गर्दै बीमालेख जारी गर्ने क्रममा ग्राहकलाई पूर्ण र सही जानकारी दिन आग्रह गरे।
“बीमकले ऐन, नियम विपरित काम गरे कारवाही हुन्छ,” अध्यक्ष ओझाले भने, “कर्मचारीको क्षमता अभिवृद्धिसँगै पेशामा इमान्दारिता अनिवार्य छ।”
कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमा कम्पनीहरूले सुशासन नअपनाई रेट कटिङ गरेमा कडा कारवाही गरिने चेतावनी दिए। उनले कम्पनीहरूलाई स्वनियममा बसेर जिम्मेवार ढंगले काम गर्न निर्देशन दिए।
अन्तक्र्रियामा सहभागीहरूले बीमकका प्रादेशिक कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने, प्रिमियमबाट संकलन भएको निश्चित प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बन्धित प्रदेशमै खर्च गर्नुपर्ने, कर्मचारी तालिमको व्यवस्थापन गर्नुपर्ने लगायत सुझाव प्रस्तुत गरेका थिए। साथै, शाखा कार्यालयहरू मापदण्डअनुसार खोलिनुपर्ने र बीमा विषय विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न पहल गर्नुपर्ने धारणा पनि राखिएको थियो।
Comment