नेपालमा पहिलो पटक एउटै व्यक्तिमा एकसाथ मिर्गौला र कलेजो प्रत्यारोपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पहिलो पटक एकै व्यक्तिको कलेजो र मिर्गौलाको एकसाथ सफल प्रत्यारोपण भएको छ।

किष्ट शिक्षण अस्पतालले असोज २२ गते १०० भन्दा बढी स्वास्थ्य र प्राविधिक जनशक्ति परिचालन गरी सफल प्रत्यारोपण गरेको हो। अस्पतालका अनुसार यसका लागि १८ घन्टाभन्दा बढी समय लागेको थियो।

शरीरका दुवै अङ्ग कलेजो र मिर्गौला ग्रहण गर्ने व्यक्ति भरतपुर, चितवन निवासी ३४ वर्षीया महिला हुन्। उनलाई ३५ वर्षीय श्रीमान्‌ले कलेजो र ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेका थिए। अङ्ग ग्रहणकर्ता र अङ्गदाता तीनै जनाको एकै साथ शल्यक्रिया प्रक्रिया थालिएको थियो। ती महिलामा जन्मजात प्राइमरी हाइपरअक्जलरिया टाइप १ नामक रोग थियो ।

अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी महिलामा जन्मजात कलेजोको रोग भएको र सोही कारण दुवै मिर्गौला बिग्रिन गएको उल्लेख गरेको छ। विज्ञप्ति अनुसार प्रत्यारोपण सफल पार्न भारतको अपोलो अस्पतालका चिकित्सक डा. निरभ गोयल, डा. अरुण कुमार मेनुथुरिमिल्ली र डा. सञ्जीव अनेजाको सहभागी थिए।

कि‍ष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा.डा. मुकुन्दराज जोशीको नेतृत्वमा लिभर ट्रान्सप्लान्ट सर्जन डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठ, किड्नी प्रत्यारोपण सर्जन डा. नारायण भुसाल, डा. सन्तोष क्षेत्री र डा. कश्यप दाहाल लगायत सहभागी थिए।

यस्तो जटिल र दुर्लभ स्वास्थ्य समस्या प्रति १० लाख जनसंख्यामा एक जनामा हुन सक्ने र यसको उपचार विश्वका केही सीमित अस्पतालहरूमा मात्र हुने गरेको पाइन्छ। अस्पतालका अनुसार बिरामीलाई शल्यक्रियाका लागि तयारी गर्न करीब ६ महीना लागेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।