धेरै कर तिर्नेले विद्युतीय चुलो पाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान । दश वटा वडा रहेको प्युठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने १ हजार ४०० करदातालाई वितरण गर्ने भएको छ ।

प्युठान नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीमध्ये न्यूनतम रु ५०० सम्म एकीकृत सम्पत्ति कर तिर्ने करदाताले उक्त चुलो पाउने मापदण्डमा पर्ने नगपालिकाका आर्थिक विकास समितिका संयोजक तथा प्युठान नगरपालिका–३ का वडाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘गत आवमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको आन्तरिक गरी करिब रु ७ लाखमा १ हजार ४०० इन्डक्सन चुलो विपन्न परिवारलाई सहयोग गर्ने भनेर खरिद भएको हो ।’

उनका अनुसार चुलो चलाउन हाई भोल्टेज विद्युत् आवश्यक पर्ने र पकाउने भाँडा सोहीबमोजिम फेरि किन्नुपर्ने हुँदा गाउँघरमा विपन्न परिवारका लागि अनुपयुक्त देखिएकाले कार्यपालिका बैठकबाट निर्णय संशोधन गरी धेरै कर तिर्ने करदातालाई सम्मानस्वरूप दिने निर्णय भएको हो ।

गरिब परिवारलाई इन्डक्सन चुलो दिँदा झन आर्थिक बोझ थपिने भएपछि सम्पत्ति कर धेरै तिर्नेलाई दिने तयारी अन्तिम चरणमा रहेको संयोजक श्रेष्ठले बताए । नगरपालिकाका ग्रामीण क्षेत्रमा स्थानीयवासीका अधिकांश घरमा छ एम्पियर क्षमताको विद्युत् एमसीबी जडान छन् । इन्डक्सन चुलो सञ्चालनका लागि कम्तीमा १५ एम्पिएर क्षमताको जडान हुनुपर्ने उनले बताए । नगरपालिकाले करिब चार महिनाअघि चुलो खरिद गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।