गोदावरीका उत्कृष्ट विद्यार्थीहरू सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर ।  २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेका गोदावरी नगरपालिका वडा नं. ३ का विद्यार्थीहरू, अभिभावक र विद्यालयहरूलाई सम्मान गरिएको छ। आइतबार वडा नं. ३ को आयोजनामा भएको कार्यक्रममा उत्कृष्ट नतिजा प्रस्तुत गरेका ८ वटा विद्यालयका १८ जना विद्यार्थीहरूलाई सम्मान गरियो।

सम्मानित विद्यार्थीहरूमा किटानी माध्यमिक विद्यालयका स्वस्तिका राई, बसन्ती विक, रोहन तिमल्सिना, सरिता मोक्तान, जयश्री रोकाया र रुबिन धिताल, पुष्पाञ्जली अंग्रेजी माध्यमिक विद्यालयका समृद्धि बस्नेत, मञ्जिल महत, सुमना श्रेष्ठ र आशिष लिम्बु, सुर्योदय शैक्षिक विकास प्रतिष्ठानका सार्थक आचार्य, क्रसेन्ट अंग्रेजी माध्यमिक विद्यालयका प्रदिका लामा र मञ्जिला मगर रहेका छन्। त्यसैगरी विद्यासागर अंग्रेजी माध्यमिक विद्यालयका युनिका शेर्पा, रुविन बिसुंखे र आस्था बिसुंखे, सेन्ट जेभियर गोदावरीका शान्वीश्री सिल्वाल र स्तुति सुवेदी पनि सम्मानित भएका थिए।

कार्यक्रममा नगर प्रमुख गजेन्द्र महर्जनले विद्यार्थी, अभिभावक र विद्यालयको अथक मेहनतले उत्कृष्ट नतिजा हासिल भएको बताए। उनले भने, “विद्यार्थीहरूको दृढ इच्छाशक्ति र लगनशीलता नै अध्ययनको सफलताको मुख्य आधार हो। प्रविधिको युगमा विश्वभरको ज्ञान सजिलै प्राप्त गर्न सकिन्छ, र यसले शिक्षाको स्तर उकास्न सहयोग गरेको छ। गोदावरीमा उत्कृष्ट शिक्षा प्राप्त गर्न सकिने अवसर उपलब्ध छन्।”

उनले विद्यार्थीहरूलाई विदेश जाने सोचभन्दा देशमै रहि उच्चशिक्षा हासिल गरी देशको समृद्धिमा योगदान गर्न आग्रह गर्दै अभिभावकहरूलाई पनि आफ्नो छोराछोरीलाई उज्जवल भविष्य बनाउन उत्प्रेरित गर्न अनुरोध गरे। महर्जनले कम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालय सञ्चालनको तयारीमा रहेको र छिट्टै सफल हुने विश्वास व्यक्त गरे।

उपप्रमुख मुना अधिकारीले नगरपालिकाले निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरिसकेको र सामुदायिक विद्यालयका नतिजा सुधारमा ध्यान दिइरहेको जानकारी दिइन्। उनले विद्यार्थीहरूलाई माध्यमिक तहको शिक्षा पूरा गरी उच्चशिक्षा हासिल गर्न प्रेरणा दिइन्।

वडा अध्यक्ष राज घिमिरेले विगतमा अध्ययनका लागि कपीकलमसमेत सहज नपाएको अवस्थामा आजको सम्मानले विद्यार्थीहरूलाई अझ उत्साहित बनाउने बताए। उनले विद्यार्थीहरूलाई आफूले रोजेको विषयमा ध्यान दिएर सफलता हासिल गर्न जोड दिए।

शिक्षा तथा खेलकुद शाखा प्रमुख दिनानाथ पन्थीले गोदावरीका विद्यालयहरूले उत्कृष्ट नतिजा हासिल गरेर शिक्षा क्षेत्रमा नयाँ इतिहास रच्न सफल भएको बताउँदै, यसलाई शिक्षाको हब बनाउन काम भइरहेको जानकारी दिए।

यसरी गोदावरी नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीले राम्रो फल पाएको र आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रवर्द्धनमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।