काठमाडौं । लोकतान्त्रिक इन्जिनियर समूहले आसन्न निर्वाचन सम्बन्धमा रहेर मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गरेको छ ।
‘लोकतान्त्रिक इन्जिनियर समूहमा मतदान, इन्जिनियरिङ समस्याको समाधान’ नारा सहित फागुन २७ मा सम्पन्न हुन लागेको नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक इन्जिनियर समूहले आयोजना गरेको मंगलबारको पत्रकार भेटघाट कार्यक्रममा आयोजकले निर्वाचनको लागि आफ्नो तयारी पूरा भएको बताएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वअध्यक्षहरु डा. हरेराम श्रेष्ठ, ई. जीवराज पोखरेल, ई. ध्रुव थापा, ई. किशोर शाक्य लगायतको समर्थन पाएको ई. दिलीप कुमार झा नेतृत्वको प्यानलले नयाँ सोच र लामो अनुभव दुवै समेटेका विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी उम्मेदवारहरुको समावेशी तवरले सन्तुलन मिलाएको छ ।

हाल नेपाल इन्जिनियर्स एसोसिएसनमा करिब ३६ हजार इन्जिनियर तथा आर्किटेक्टहरुको साझा प्लेटफर्मको रुपमा रहँदै आएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनको यसपटकको निर्वाचनमा लोकतान्त्रिक विचारधारा निकट मानिने सेन्ट्रल फर डेमोक्रयाटिक इन्जिनियर्स (सिडेन)ले उम्मेदवार छनौटको विधि र प्रक्रियालाई विचार नगरी सबै सदस्यहरु समावेशी रुपमा समेट्ने कुरालाई विचार नगर्दा लोकतान्त्रिक समूहबाटै २ समूहमा बाँडिएर इन्जिनियरहरु निर्वाचनमा होमिनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको एसोसिएसनका पूर्वअध्यक्ष डा. जीवराज पोखरेलले पत्रकार सम्मेलनको क्रममा बताए ।

मंगलबारको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष इन्जिनियरहरु किशोर शाक्य, ध्रुव थापा, हरेराम श्रेष्ठ लगायतले इन्जिनियरिङ पेशासँग सम्बद्ध बहुआयामिक समस्याहरुको समाधान गर्दै देश विकासको दिगो लक्ष्य प्राप्तिमा नेपाल इन्जिनियर्स एसोसिएसनले अझ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । साथै दिलीप कुमार झा संस्थागत नेतृत्वमा लामो समय देखि क्रियाशिल रहँदै आउनुभएको र इन्जिनियरिङ क्षेत्रका विविध समस्यामा समाधान दिन कुशल भूमिका निर्वाह गर्दै आउनुभएको कारण उहाँको प्यानललाई मतदान मार्फत विजयी गराई सही अर्थमा इन्जिनियरिङ क्षेत्रका समस्या समाधानमा ठूलो सहयोग पुग्नेमा समेत पूर्वअध्यक्षहरुको जोड छ ।
आगामी दिनमा इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार, इन्जिनियरको लागि रोजगारी एवं न्यूनतम पारिश्रमिक, इन्जिनियरहरुको दक्षता विकासको लागि आवश्यक प्रशिक्षण, इन्जिनियरिङ परियोजनाहरुको गुणस्तर नियन्त्रण लगायतमा एसोसिएसनको भूमिका महत्वपूर्ण हुनुपर्नेमा वक्ताहरुको मुख्य जोड छ ।

यसपटक दिलीप कुमार झा नेतृत्वको लोकतान्त्रिक इन्जिनियर समूह नेतृत्वको प्यानलबाट उपाध्यक्ष पदमा ई. ऋषि कोइराला, महासचिवमा ई. कृष्णसिंह बस्नेत, उपमहासचिवमा ई. सुधिर गुरागाईं, कोषाध्यक्षमा आ. रमिता श्रेष्ठ, सहकोषाध्यक्षमा ई. सञ्जय कुमार महतोको अलावा सदस्य इन्जिनियरहरुमा पराग कायस्थ, बज्रमानसिंह थापा, लैला श्रेष्ठ, प्रजन हाडा, लक्ष्मण मण्डल, डा.ढुण्डिराज दाहाल, अन्जनी कुमार देवजु श्रेष्ठ, डा. भरत मण्डल, सुभाष जोशी, नविन तिवारी, रामाशंकर जयसवाल, भोजराज यादबको उम्मेदवारी रहेको छ ।
यसैगरी इन्जिनियरिङ परिषदको लागि रत्नेश्वरलाल कर्ण, पुनम शाह, भगतमानसिंह प्रधान, टेकराज बोहोरा र रोमि मानन्धरको उम्मेदवारी रहेको छ । एसोसिएसनको बाग्मती प्रदेशको नेतृत्वको लागि सभापति जीवन कुमार श्रेष्ठको उम्मेदवारी रहेको छ ।

Comment