लामो निसास्सिँदो कालरात्रिपछि
झलमल्ल नौलो घाम उदाउँछ रे
भोको पेटलाई एक पसर चारो
नाङ्गो आङलाई एकसरो धरो
पनि मिल्छ रे
भन्ने गर्थ्यौ नि है ?
ए ढुङ्गाघरे माहिला बा !!
तर
दिनभरि खोरियाबारीमा
पटुका र पानीको भरमा
डल्ला फोर्ने काँडाघारी कान्छा बा,
कन्था कछाडले लज्जा ढाकी
कान्लेको कछाडमा तँछाड र मछाड गर्दै
जेठको धूपमा आँखाले देख्तासम्म
कान्ला काट्ने केराबारी काहिँला बा,
अनि पाथीको दुई रुपियाँ मजुरीको आसमा
हात्तीपाइलेले चरक्क चिरिएका
नाङ्गा गोडा र कुकुरडाइनुको लौरोको सहारामा
फाँटको बर्खे हिलो र
पट्टाबारीको चिप्लो बाटोको पर्वाह नगरी
दिनहुँ छहरेदेखि ढिकुरेसम्म
पिँडुलाका नसा र घाँटीको घोक्रो फुलाई
मुरीको धोक्रो बोक्ने
६० वर्षीय माझाघरे माहिला बाका कहानीमा घोरिँदा
मलाई लाग्दैछ
ए ढुङ्गाघरे माहिला बा !!
तिमीले कल्पिएको उज्यालो घाम अझै अस्तै छ
तिम्रो कालरात्रि अझै उस्तै छ
यहाँको हालत जस्तातस्तै छ ।।
अझै पनि
रित्तो पेट पटुका कस्तै छ
छोरी चेलीको आङ खस्तै छ
नयाँ जोगी खरानी घस्तै छ
घरमूली ब्वाँसोजस्तै छ
दूध पिलाएर पाल्दा पनि
जो रिसाहा सर्पले झैँ डस्तै छ
यताबाट कन्याउँदै छ
उताबाट दाह्रा धस्तै छ
ए ढुङ्गाघरे माहिला बा !!
साँच्चै घोत्लिहेर त
यहाँ त सर्वत्र यस्तै यस्तै छ ।
कालरात्रिमा जो भित्र पस्तै छ
तुरुन्तै चिनीको चास्नीमा फस्तै छ
आङ कन्याउँदै छ
छारो उडाउँदै छ
भाडाको घर ओगटेर बस्तै छ
अनि केके न गरेँ भनी भित्रभित्र मस्तै छ
ए ढुङ्गाघरे माहिला बा !!
आँखा चिम्लेर सम्झिहेर त एकपटक
खोइ त त्यो उज्यालो घाम
यहाँ त सर्वत्र यस्तै यस्तै छ ।
निर्मलाको कहानी खुलस्तै छ
आँ गर्दा अलङ्कार प्रशस्तै छ
सयौँ भागिरथीको जवानी सस्तै छ
हजुरबा मतिभ्रष्ट
हजुरआमा पतिभ्रष्ट
बा परस्त
आमा छारस्ट
दाजुभाइ अलमस्त
दिदीबहिनी कलिलैमा क्षतिग्रस्त
छोराछोरी पथभ्रष्ट
आ-आफ्ना लाइनमा सबै अभ्यस्त
जता हेर्यो उतै अस्तव्यस्त
ए ढुङ्गाघरे माहिला बा !!
आँखा अगाडि सबै प्रस्टै छ
यहाँ त सर्वत्र यस्तै यस्तै छ ।
घरिघरि सम्झना आउँछ
माथ्लाघरे कार्कीबाको छोराको फौजी नोकरी,
ढुङ्गाघरे माहिला बा !
तिम्रो उज्यालो घामको सपनाको हुन्डरी
जसले जेठो छोरो उडायो
माहिलो छोरो उडायो
पूरै परिवारको होस हवास उडायो
समयको त्यो आँधीले
मकैचौरको गोरो उडायो
भद्रटारको छोरो उडायो
हाँसेटोलको नाति उडायो
राम दाइको घाँटी चुँडायो
नवराजको अस्तित्व उडायो
पार्वतीको सतीत्व उडायो
भोको पेटमा कसेको पटुका फर्काउने आसमा
जन्मभूमि छाडी खाडी हिँडेका
विष्टका घरमा बालीका भरमा
सहनाई दमाहा नरसिङ्गा बजाउने
टालामा कला भरी लाज बचाउने
मूलबाटो सिरानघरका
वंश थाम्ने पिल्लरहरू
पालैपालो बाकसमा पठायो
लाऊँलाऊँ र खाऊँखाऊँ चकनाचुर पारी
सिङ्गो परिवारको बिल्लिबाठ बनायो
जसका आड भरोसाले आज
कसैलाई प्लेनमा चढायो
कसैलाई पजेरोमा गुडायो
कसैलाई कुर्सीको मात गडायो
उनैका सपना चुँडाई
सुधारिएको कालरात्रिको नवयुगीन संस्करणमा
कसैले सिङ्गै ढुकुटी स्वाहा पारी लुँड्यायो
ए ढुङ्गाघरे माहिला बा !!
खोइ त तिम्रो त्यो उज्यालो घाम ?
कतै उदायो कि
अझै उदाउन बाँकी छ ?
मलाई त लाग्दै छ
त्यो घाम अझै अस्तै छ
कालरात्रि अझै उस्तै छ
हामी मस्त सुत्दै छौँ
सपनाभित्र घुस्तै छौँ
अनि हाम्रो रगत सुटुक्क चुसेर
उडुस पुटुक्क छ
उपियाँ पुटुक्क छ
लामखुट्टे पुटुक्क छ
सबैलाई परजीवीले चुस्तै छ
हाम्रो सुन्दर एनिमल फाराममा
जर्ज अर्वेलको सुङ्गुर घुस्तै छ
ए ढुङ्गाघरे माहिला बा !
हेर त
यहाँ त अझै पनि यस्तै यस्तै छ ।।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।