add

उत्पादनमूलक क्षेत्र हाे रत्न आभूषण, यसकाे थप प्रवर्द्धन गराैंः रमेश महर्जन






ActPro Nepal

|

३२ साउन, २०७७

|
1259

काठमाडौं ।  रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुन् । विगत लामो समयदेखि सुनचाँदी तथा रत्न आभूषणकाे  व्यापारमा आवद्ध प्रतिष्ठित व्यवसायी रमेश महर्जन आर.बी. डायमण्ड ज्वेलरीका कार्यकारी निर्देशक समेत हुन् ।

नेपालमा लामो समयदेखि यस व्यसायमा आवद्ध महर्जन कोरोना महामारीका कारण सृजित परिस्थितिले नेपालको सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रमा मन्दी छाएको बताउँछन् । बन्दाबन्दी अगाडी अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्नाले नेपालमा सुनको भाउ बढेकाले व्यापारमा केहि कमी आइसकेकोमा बन्दाबन्दीले झन ठूलो मारमा पारेको उनी बताउँछन् । तर हरेक कुराको सकारात्मक र नकारात्मक दुबै प्रभाव हुने भएकाले कोरोना महामारीको अन्तसँगै यो व्यवसाय पनि पुन नयाँ उत्साहका साथ अगाडी बढ्नेमा उनी विश्वस्त छन् ।

नेपालमा ज्वेलरी व्यवसायको संभावनाः

यस व्यवसायमा ठूलो संभावना रहेको छ । रोजगारीको अवसर पनि धेरै छ । धेरै युवावर्गहरु यस क्षेत्रमा आकर्षित पनि भएका छन् र उनीहरुले राम्रो कमाइ पनि गरिरहेका छन् । तर पहिलेको तुलनामा नेपाली मौलिक गरगहना बनाउने कालिगढहरु अहिले विस्थापित भइरहेकोमा भने महर्जन चिन्तित छन्। दोस्रो पुस्ताका कालिगढहरु यस क्षेत्रमा एकदमै कम मात्रामा मात्र संलग्न रहेका छन् ।  नेपालमा सिर्जनाको भ्यालु कम भएकाले नै यसप्रति युवाहरुको आकर्षण कम भएको  उनको बुझाइ रहेको छ

महर्जनका अनुसार यस क्षेत्रमा सम्भावना राम्राे भएर पनि कामको सही मूल्यांकन नहुँदा युवाहरु यस क्षेत्रमा लाग्न चाहँदैनन् ।  जसले गर्दा हाम्रो कला, संस्कृति र मौलिकता लोप हुने सम्भावना रहेको छ । नयाँ पुस्ताका कालिगढ यस क्षेत्रमा प्रवेश नहुनु र पुराना कालिगढ बिस्तारै लोप हुँदै गइरहेका कारण ठूलाे समस्या सृजना भएको उनी बताउँछन्। देशमा दक्ष कालिगढको अभावका कारण बाह्य कालिगढमा पनि भर पर्नुपर्ने अवस्था आइरहेको उनी बताउँछन् ।

नेपाली मौलीक गरगहनाको विदेशमा माग र निर्यात 

सुनचाँदीसँग नेपालीहरुको संस्कृति परम्परा देखि नै जोडिँदै आएको छ  । नेपालमा विभिन्न चाडपर्वमा विभिन्न जातजातीले आ-आफ्नै  परम्परागत गरगहनाहरु लगाउने गर्दछन् । यसले हाम्रो मौलिक पहिचान र संस्कृतिलाई जोगाइराखेको छ ।

‘हाम्रा पुर्खाले पनि कि घर खेत जोड्थे या गहना जोड्ने गर्थे । ताकी भावी पुस्तालाई सजिलो होस् र त्यसलाई निरन्तरता दिउन् । यसरी सबैले महत्वका साथ हेरिएको हाम्रो नेपाली गरगहनाको  नेपालमा मात्र होइन विश्वबजारमा नै ठूलो माग छ । तर माग अनुसारको आपूर्ति हुन भने सकेको छैन । राज्यले पहिला गरगहनालाई उपभोग्य वस्तुका रुपमा मात्र लिएर यो निष्क्रिय पूँजी हो भन्ने मान्यता राखेकाले यसको विकाशका लागि त्यति धेरै काम गर्ने त‍र्फ साेचेन ।  तर अब हामीले नेपाली गरगहना अथवा नेपाली सुनचाँदी, रत्न तथा आभुषणलाई उत्पादनमुखी एवं निर्यातमुखि बनाउने लक्ष्यका साथ काम गरिरहेका छौं । जसले गर्दा हाम्राे पहिचान बाह्य बजारमा पनि विस्तार भएकाे छ । राम्राे आर्थिक मुनाफा समेत हासिल गरेका छाैं’ महर्जनले भने ।

महर्जनका अनुसार हामीले नेपाली मौलीक गरगहनालाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने किसिमले डिजाइन गरी निर्माण गरिँदै आइएकाे छ । साथै गुणस्तरको हिसाबले पनि हामी माथि छौं । हाम्रो नेपालमा एकदमै राम्रो गुणस्तरीय गहना बन्छन् जसलाई विश्व बजारले पनि मन पराउने गर्दछ । अहिलेको हाम्रो बजार बिस्तारै बढ्दै गईरहेको छ। सरकारले गहना निर्यातका लागि अझै सहज हुने वातावरण बनाइदिएको खण्डमा यसको निर्यात अझै बढ्ने उनी बताउँदछन् । यसले गर्दा नेपाली मौलिकताका गहनाहरु विश्वबजारसम्म पुर्याउन सजिलो हुने उनको धारणा रहेको छ ।

उनी भन्छन् –हामीसँग अहिले अवसर छ विश्व बजारसम्म पुग्ने र नेपाली गहनाहरुको प्रचारप्रसार गर्ने। गहनाले हाम्रो नेपाली ‘सिभिलाइजेशन’, परम्परालाई पनि बिदेशमा चिनाउने गर्दछ । साथै  गहना हाम्रो परम्पराको एउटा अभिन्न अंग पनि हो । हामीले मौलिक गहनालाई मौलिकताको डिजाइनमा र त्यसलाई फ्युजन गरेर अर्को प्याट्रनमा र मोडन डिजाइनमा गरी तीन किसिमले आन्तरिक बजारमा र विश्वबजारमा कसरी पुग्न सकिन्छ भनेर काम गरिरहेको छौं । यसले गर्दा युवा तथा सबै बर्गका मानिसलाई गहनाले आकर्षित गर्न सकोस् भन्ने हाम्रो चाहना हो ।‘

नेपाली अर्थतन्त्रमा यस क्षेत्रको योगदान

नेपालमा सानाठूला गरी करिब २० हजार सुनचाँदी तथा रत्न आभुषणका व्यवसायी छन् । यस क्षेत्रमा करिब दुई लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् भने तीनका परिवारका १० लाख मानिस यस व्यवसायबाट पालिएका छन् । यस व्यवसायमा बार्षिक ५० देखि ६० अर्बको कारोबार हुन्छ । यसबाट सरकारले १० औं अर्ब राजस्व प्राप्त गर्दछ  । देशको अर्थतन्त्रमा यति  ठूलो योगदान दिने यो व्यवसायलाई सरकारले भने प्राथमिकतामा राखेको छैन ।

तर हाम्रो ८-९ बर्षदेखिको निरन्तर पहल र प्रयासले अहिले  राज्यले पनि यस क्षेत्रलाई उत्पादनमुखी एवं निर्यातमुखि क्षेत्र हो र यसबाट राज्यले ठूलो मात्रामा राजस्व उठाउन सक्छ भन्ने कुरा बुझेको छ । यसका लागि सम्बन्धित निकायसँग पहल भइरहेको छ। यस क्षेत्रलाई अझ विस्तार गर्न राय सुझाव सहित हामीले सरकारका विभिन्न निकायमा प्रतिवेदनहरु पनि पेश गरेका छौं  । यदि यो कार्यान्वयनमा आयो भने राज्यले सोच्दै नसोचेको लाखौँले रोजगारी पाउनेछन् । हामी व्यवसायीहरुकाे अहिलेसम्मको विश्लेषणमा झण्डै एक अर्ब देखि दुई अर्ब डलर बराबरको बजार छ । तर त्यो अवस्थासम्म पुग्न सहज नीति चाहिन्छ ।

सरकारले पनि गहना पनि निर्यात गर्न सकिन्छ भन्ने कुरा बुझिसकेको अवस्थामा यसको कच्चा पदार्थ आयात र निर्मित गहनाहरुको निर्यातमा नीतिनियमको असहजता हटेर जान्छ भन्नेमा हामी विस्वस्त छौं ।

यस क्षेत्रका चुनौतीहरुः

लामो समयदेखि यहि क्षेत्रमा आवद्ध रहनुका  साथै नेपाल सुनचाँदी, रत्न तथा आभुषण संघको अध्यक्ष रहेकाले पनि यस क्षेत्रका चुनैतीलाई आफूले नजिकबाट नियालिरहेको बताउँछन् महर्जन । साथसाथै ती चुनौतीलाई अब कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा पनि महासंघ लागिपरेको छ । यो लकडाउनको समयमा पनि आफूहरुले यस क्षेत्रका व्यवसायी तथा विज्ञहरुसँग भर्चुअल बैंठकहरु बसेर राय सुझाव लिइएकाे छ ।

‘हरेका क्षेत्रमा चुनौति त हुन्छन् नै । यस क्षेत्रमा पनि चुनौति थिए र अझै पनि छन् । पहिले मानिसहरु गरगहना त हुनेखाने वर्गका लागि मात्र हो भन्ने सोचाई राख्ने गर्थे । यो उत्पादनको साधन होइन उपभोग्यको मात्र साधन हो भन्ने सबैको बुझाई थियो। यो सोचाइलाई परिवर्तन गर्न निकै चुनौतिको काम थियो । तर अहिले त्यो सोचको परिवर्तन भएको छ । यस क्षेत्रलाई पनि राजस्व, रोजगारी, उत्पादन र निर्यातमूखी क्षेत्रको रुपमा हेर्ने गर्दछन् । तथापि अझै यस क्षेत्रसँग सम्बन्धित सरकारी नीतिनियममा केहि परिवर्तन हुन आवश्यक छ । गरगहनाको निर्यातमा केहि समस्या छन् । कुरियर गर्न पनि हामीलाई केहि असहज छ । यी सबैको लागि सरल नीति हुनसके यस क्षेत्रले अझै धेरै रोजगारी र विदेशी मुद्रा आर्जन गर्न सक्छ  ।

त्यसैगरी हामी कहाँ कालीगढहरुको पनि समस्या रहेको छ । अझै पनि हाम्रो क्षेत्रमा भारतबाट आएर काम गर्ने कालीगढको संख्या ठूलो छ । यसको समाधानका लागि  महासंघले बेलाबेलामा गरगहना निर्माणका लागि तालिमहरु पनि प्रदान गर्दै आइरहेको छ । हामीलाई भरोसा छ युवा बर्गको यसका सहभागिता बढाउन सक्यौं भने हाम्रो आन्तरिक कामदारले नै यो क्षेत्रलाई धान्न सक्छ’ महर्जनले भने ।

यस क्षेत्रको विकाशका लागि महासंघका प्रयाशहरुः

नेपाल सुनचाँदी, रत्न तथा आभुषण महासंघ यो क्षेत्रकै सबैभन्दा पुरानो संस्था हो । आफूहरुले सुरुदेखि नै यस क्षेत्रलाई उत्पादन तथा निर्यातमूलक उद्योगको रुपमा स्थापित गर्नुपर्छ भन्ने ध्येयका साथ काम गरिरहेकाले याे क्षेत्र अहिलेकाे अवस्थामा आउन सकेकाे हाे । यो क्षेत्र विलासिताको क्षेत्रको रुपमा मात्र नलिएर यसलाई रोजगारी सृजना गर्ने, बैदेशिक मुद्रा आर्जन गर्ने, देशको राजस्वमा टेवा पुर्याउने साथै गरगहनाको उत्पादन र निर्यात गर्ने क्षेत्रको रुपमा विकाश गर्ने योजना बमाेजिम महासंघले काम गरिरहेकाे छ । साथै त्यस कार्यमा आफूहरु सफल पनि भएकाे भन्दै महर्जन गर्व गर्छन् ।

महासंघले लकडाउनका कारण उद्योग, व्यवसायमा उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न ऋणको साँवा, व्याज, किस्ता आदिको साथै उद्योग, व्यवसायलाई पुनरुद्धार गर्न अवलम्बन गर्नु पर्ने तात्कालिन एवं दीर्घकालिन उपाय बारे लिखित सुझाव समेत सरकार समक्ष प्रस्तुत गरेको छ ।

महासंघले यस क्षेत्रको विकाशका लागि देश तथा विदेशमा गरगहना तथा रत्नहरुको प्रदर्शनकाे लागि मेलाहरु समेत आयोजना गर्दै आइरहेको छ । महासंघले यहि जेठमा पनि नेपाल  इन्टरन्यासनल जेम्स एण्ड ज्योलरी एक्सपो आयाेजना गर्ने योजना समेत बनाएको थियो तर दुर्भाग्य कोरोना महामारीका कारण यस बर्षकाे एक्सपो आयोजना गर्न सकिएन ।

साथै आफूहरुले महासंघ अन्तरगत जेम्स एण्ड ज्योलरी काउन्सिल इन्डीया जस्तो बार्षिक ५० अर्ब डलरको गहना निर्यात गर्ने संस्थासँग सहकार्य गरेर नेपाली गरगहनाको पहिचान अन्तराष्टिय स्तरमा पुर्याउन हेड टु हेड काम गरिरहेकाे समेत महर्जन बताउँछन् । साथै आफूहरुले अमेरिकाको प्रतिष्ठित  संस्था डेमोलोजिकल इन्स्टीट्यूटसँग पनि यस क्षेत्रको विकाशका लागि सहकार्य गरी काम गरीरहेकाे समेत महर्जनले बताए । यसकाे अलावा महर्जन नेतृत्वकाे महासंघले याे क्षेत्रमा आउन चाहने युवाहरुलाई लक्षित गरेर तालिमको व्यवस्था पनि गरेकाे छ । यसकाे अलावा भन्सारका कर्मचारीलाई पनि सुनचाँदी तथा हिरा पहिचानका लागि तालिम दिएकाे छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.