add

पर्यटनमा लकडाउनको ठूलो असर, नयाँ सम्भावना बन्दै कृषि क्षेत्र






ActPro Nepal

|

१७ साउन, २०७७

|
1217

अहिले कोरोनाको कारण विश्वभरको अर्थतन्त्र कमजोर भएको छ । नेपालमा पनि त्यही अवस्था छ । त्यसमा पनि नेपालमा कोरोना महामारीको रुपमा नफैलिइसकेको अहिलेको अवस्थामा हामीले गरेको तयारी कोरोनाको सम्भावित खतराबाट बच्नको लागि गरिएको पूर्वतयारी मात्रै हो । यसले अहिले सम्म कुनै दुर्घटना भएको देखिएको छ । केवल हाम्रो जनजीवन प्रभावित भएको छ । यद्यपि यसले हाम्रो अर्थतन्त्रमा पार्ने असर भने निकै नै दीर्घकालिन हुने देखिएको छ । नेपालमा कोरोनाको नियन्त्रण गर्ने उद्देश्यले नै पूर्वतयारी स्वरुप लकडाउन गरिएको हो ।


बढी प्रभाव परेको क्षेत्र पर्यटन
लकडाउनको सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा पर्ने देखिएको छ । अहिले सम्म कोरोना कहिले नियन्त्रणमा आउने हो र लकडाउन कति लम्बिने हो भन्ने यकिन समेत गर्न सकिएको छैन । यो कति लम्बिने भन्ने कुरा हामीले जति छिटो यसको प्रभावकारी उपचार विधि पत्ता लगाउन सक्छौं भन्नेमा निर्भर रहने देखिन्छ ।
कोरोनाको उपचार विधि पत्ता लाग्ने वित्तिकै र कोरोना नियन्त्रणमा आउने बित्तिकै पर्यटकीय गतिविधि वृद्धि हुने अपेक्षा पनि गर्न सकिँदैन । पर्यटकीय गतिविधि बढाउन मानिसमा बाह्य बजारमा हिँडहुँल गर्ने हिम्मत पनि बढ्नुपर्छ । शुरुमा कोरोना नियन्त्रणमा आएपश्चात् पनि मानिसहरु ‘पर्ख र हेर’को अवस्थामा नै रहन्छन् । अहिले नै अवस्था सामान्य भएको खण्डमा पनि हामी पर्यटनमा कम्तीमा पनि ३ बर्ष पछाडि परेको अनुमान गर्न सक्छौं । अर्थात सन् २०१९-२० मा हामीले जुन प्रगति गरेका थियौं, त्यही अवस्थामा आउन पनि कम्तीमा ३ बर्ष लाग्न सक्छ ।

मुख्य बजार नै कोरोनाको उच्च प्रभावमा
नेपालमा आउने पर्यटकहरु मुख्यतः युके, अष्टेलिया, अमेरिका, चीन लगायतबाट हो । ती देशमा कोरोनाको सङ्क्रमण निकै नै भयावह छ । यसबाट एकातिर मानिसहरु बेखर्ची भएका छन् भने आफूसँग भएको रकम समेत तत्काल खर्च गर्न तयार नहुने अवस्था सृजना भएको छ । साथै उनीहरुमा डर ठूलो मनोरोग हुने समेत देखिन्छ ।

व्यवसायीहरु विस्थापित हुन सक्ने सङ्केत
पर्यटन आपसमा निकै धेरै क्षेत्रसँग अन्तरसम्बन्धित रहने क्षेत्र हो । भनिन्छ, एउटा पर्यटक नेपाल आउँदा त्यसले १ दर्जन क्षेत्र चलायमान बनाउँछ । तर अहिले पर्यटनका विभिन्न च्यानलहरु ब्रेक भएका छन् । साथै अवस्था सामान्य अवस्थामा आइसकेपश्चात् समेत नेपालमा पर्यटन क्षेत्रबाट तत्कालै ठूलो सङ्ख्यामा व्यवसायीहरु विस्थापित हुन सक्ने अवस्था समेत देखिएको छ । पर्यटन क्षेत्रमा संलग्न व्यक्तिहरु अधिकांश आर्थिक रुपमा सबल नभई मध्यम आर्थिक हैसियतका बढी छन् । व्यवसायीहरु बैंकको ऋणले च्यापिएका छन् ।

आँकडामा पर्यटन बजार
नेपालमा पर्यटन क्षेत्र मार्फत अहिले सम्म करिब १३ लाख मानिसहरुलाई रोजगारी सृजना भएको थियो । करिब २ खर्ब ४० अर्ब बराबरको आय यस क्षेत्रबाट हुँदै आएको थियो । यस क्षेत्रमा करिब १ खर्ब बराबरको रकम लगानी भएको थियो । तर अहिले यो सबै ध्वस्त भएको छ । पर्यटन मन्त्रीले जिडिपीमा ३ देखि ४ प्रतिशत मात्र योगदान रहेको बताउनुभएको छ । तर हामीले विश्व बैंकको रेकर्ड हेर्दा यस पर्यटन क्षेत्रबाट करिब ७.९ प्रतिशत योगदान रहेको पाउन सकिन्छ । यसलाई हेर्दा पनि पर्यटन क्षेत्रको योगदान अर्थतन्त्रमा निकै महत्वपूर्ण रहँदै आएको छ ।

अबको पहल
पर्यटन क्षेत्रलाई तत्काल माथि उठाएर पहिलेको अवस्थामा पु¥याउने कार्य त्यति सहज त अवश्य छैन । तैपनि परिस्थिति तत्काल सामान्य अवस्थामा आउन सकेको र मानिसहरु घुमफिरमा तयार भएको अवस्थामा पनि नेपाल सरकारले विशेष प्याकेज ल्याई पर्यटक आकर्षित गर्न सकेको खण्डमा विस्तारै पर्यटकहरु नेपालमा आउन सक्ने देखिन्छ ।

पुर्वाधार विकासमा केन्द्रित हुनुपर्छ
अब हामीले पर्यटनको दिगो फाइदालाई लक्षित गरी अघी बढ्नु जरुरी रहन्छ । यसको लागि हामीले हाम्रा सडक, एयरपोर्ट लगायतका पूर्वाधारको गुणस्तरीयता थप सुधारको लागि पनि विशेष पहल गर्नु जरुरी छ । साथै तत्कालको लागि भने अल्पकालिन उपायहरु समेत खोजी गर्दै यस क्षेत्रलाई टिकाइराख्नुपर्ने जरुरी समेत देखिन्छ । अहिले लकडाउनको समय भएको हुनाले सबैजना घरमा नै बसेर आराम गर्नुको अलावा कस्ता योजना प्रभावकारी हुन सक्छन् भन्ने बारेमा घरबाटै तयारी गर्नुपर्ने आवश्यकता समेत देखिन्छ ।

कृषि क्षेत्रः अबको नयाँ सम्भावना
अहिले नेपालमा विदेशिएका नेपालीहरु समेत नेपालमा फर्कन सक्ने अवस्था देखिएको छ । मुलुकको विकासको लागि पर्यटन, जलविद्युत र कृषि गरी ३ क्षेत्रलाई मुख्य खम्बाको रुपमा हेरिँदै आइएको छ । यद्यपि कृषि क्षेत्रमा काम गर्न अहिले सम्म जनशक्ति ठलो समस्या देखिएको थियो । अब भने कृषि क्षेत्रमा समेत युवाहरु आकर्षित हुने सम्भावना देखिएको छ । कृषिको व्यावसायिकरणको लागि हामीले कोरिया, इजरायल लगायतमा पुगेका व्यक्तिहरुले सिकेको सीप नेपालमा प्रयोग गर्न सक्ने गरी तयारी सहित यान्त्रिकरणमा समेत जोड दिन सकेको खण्डमा कोरोनाले कृषि क्षेत्रलाई नयाँ तवरले माथि ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने समेत देखिएको छ । यसको लागि नेपालको कृषि मन्त्रालयलाई थप सशक्त बनाउँदै कृषकलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने जरुरी समेत देखिएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.