काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बुधबार राति ७:२५ बजेदेखि शुक्र ग्रह अस्त हुने जानकारी गराएको छ ।
शुक्र ग्रह पश्चिममा अस्त भई यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुनेछ । यो अवधिमा विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव लगायतका विशेष कार्य गर्न नहुने समितिले जनाएको छ।
तर, नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान जस्ता धार्मिक कार्य भने गर्न सकिनेछ । हिन्दू शास्त्रअनुसार शुक्र ग्रह अस्त भएका बेला विवाह, गृह प्रवेश, देव प्रतिष्ठा, व्रतबन्ध जस्ता काम्य कर्म निषेध गरिएको छ।
सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटाका अनुसार शुक्र ग्रह पृथ्वी नजिक पुग्दा सूर्यको प्रकाशले त्यसलाई ओझेलमा पार्दा शुक्र अस्त हुने मान्यता छ।
शास्त्रीय मान्यता अनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । शुक्र ग्रह अस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनपछि विभिन्न धार्मिक कर्म नगर्नुपर्ने ज्योतिषीय मान्यता रहेको छ । नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि पर्दछन् भने नैमित्तिक कार्यमा न्वारान, पास्नी, श्राद्ध, मासिक तर्पण जस्ता कर्म समावेश हुन्छन्।
न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ।
अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः।
तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना। ।
अर्थात् गुरु शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्राबाहेक अन्य यात्रा नगर्नू भनिएको छ। यस अवसरमा अनिष्टफल भोग्नुपर्ने कुरा मुहूर्तचिन्तामणि पीयूषधारा टीकामा उल्लेख गरिएको छ।
विशेषतः विवाह, गृह निर्माण, देव स्थापना, मूर्ति प्राण प्रतिष्ठा, नयाँ ब्रतको आरम्भ, यात्रा, व्रतबन्ध, कान छेदन, मन्त्र दीक्षा, तीर्थ यात्रा, राजाभिषेक, विशेष परीक्षा जस्ता कर्म शुक्र अस्तको अवधिमा गर्न नहुने शास्त्रीय निषेध गरिएको छ।
शुक्र ग्रह अस्त भएकाले यसको दशा चलिरहेका व्यक्तिहरूलाई प्रभाव पर्न सक्ने बताइएको छ । यस्तो समयमा शुभकर्म गर्न नहुँदा विवाह, व्रतबन्ध, गृहप्रवेश, मन्दिर स्थापना जस्ता कार्य रोक्नुपर्ने धार्मिक मान्यता रहेको छ।
तर, गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्न सकिने वायुपुराणमा उल्लेख छ । 'गयाश्राद्ध र गोदावरी यात्राबाहेक अन्य यात्रा नगर्नू' भन्ने धार्मिक ग्रन्थमा उल्लेख भएको समितिले जनाएको छ । यस अवधिमा अनिष्टफल भोग्नुपर्ने कुरा मुहूर्तचिन्तामणि पीयूषधारा टीकामा उल्लेख गरिएको छ।
यस अवधिमा श्राद्ध, वार्षिकी, ग्रहशान्ति, रोग निवारणका निम्ति गरिने कर्महरू भने रोकिँदैनन् । अत्यावश्यक धार्मिक कार्य, औध्र्वदेहिक कर्म, ग्रहशान्ति, रोग शान्ति जस्ता कर्म गर्न सकिने धार्मिक शास्त्रमा उल्लेख छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।