काठमाडौं । स्वास्थ्य मन्त्रालयले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन्।
आगामी मंसिर १ गतेबाट निर्णय लागु हुने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्री पौडेलले पदबहाली गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका हुन्।
सरकारले हरेक व्यक्तिलाई उपचारका लागि दिने रकममा अपुग भए मन्त्रालयको आन्तरिक श्रोतबाट व्यवस्थापन गरिने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ। त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालय अन्तर्गतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ।
यहाँ सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ। नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको महाशाखाले जनाएको छ।
Comment