add

उपत्यकामा तत्काल ६ हजार आइसोलेसन कक्ष र दुई हजार क्षमताको क्वारेन्टिन बनाइँदै






ActPro Nepal

|

१२ भदौ, २०७७

|
799

काठमाडौँ  । काठमाडौं उपत्यकामा तत्काल ६ हजार आइसोलेसन बेड व्यवस्था गर्ने तयारी भएको छ । उपत्यकामा संक्रमितको दर दिनप्रतिदिन बढ्दै गैरहेको र समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने भन्दै संघीय सरकार र स्थानीय तहले उपत्यकामा एकीकृत आइसोलेसन निर्माण गर्न लागेका हुन ।

उपप्रधान तथा रक्षामन्त्री एवं कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बिहीबार भएको छलफल पनि स्वास्थ्य प्रोटोकललाई ध्यान दिदैँ एकीकृत आइसोलेसन निर्माणमा केन्द्रित रहेको बताइएको छ ।

रक्षा मन्त्रालयमा भएको छलफलमा उपत्यका नगरपालिका फोरमका पदाधिकारीले जारी निषेधाज्ञाको अवधिलाई पूर्ण सदूपयोग गर्दै उपत्यकाकामा तिव्र गतिका साथ एकीकृत आइसोलेसन निर्माणमा गर्नुपर्नेमा जोड दिएका थिए । ‘बैठकमा अहिलेसम्म एकीकृत आइसोलेसन र क्वारेन्टिन निर्माणका लागि भएका प्रयास र गरेका कामका बारेमा समीक्षा भयो,’ काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘जारी निषेधाज्ञाको पूर्ण सदुपयोग गर्दै उपत्यकामा गुणस्तरीय एकीकृत क्वारेन्टिन र आइसोलेसन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल भयो ।’

सरकारले उपत्यकामा कम्तीमा ६ हजार एकीकृत आइसोलेसन निर्माण गर्ने निर्णय गरिसकेको भन्दै संघीय, प्रदेश र स्थानीय तहको समन्वयमा निषेधाज्ञा अवधी भित्रै आइसोलेसन निर्माण गर्ने गरी अघि बढेको उनले जानकारी दिए । ‘केही ठाउँमा आइसोलेसन सञ्चालनमा आइसकेका छन्,’ उनले भने, ‘बाँकी ठाउँमा पनि हामी समन्वयका साथ अघि बढेर जतिसक्दो छिटो निर्माण गछौं ।’

उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पनि उपत्यकामा एकीकृत आइसोलेसन निर्माण गर्ने विषयमै केन्द्रित भएर छलफल भएको बताए । छलफलमा मन्त्री पोखरेल र ढकालले उपत्यकामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै नियन्त्रण र रोकथामका लागि संघीय, प्रदेश र स्थानीय तहको समन्वय अत्यावश्यक भएको बताएका थिए ।

सरकारले क्वारेन्टिनस्थल र आइसोलेसन राख्दा प्रति व्यक्ति १ सय ७५ रुपैयाँ मात्रै खर्च गर्ने मापदण्ड बनाएको भन्दै त्यसमा थप गरी कम्तीमा पाँच सय पुर्याउन मेयर फोरमका पदाधिकारीले माग गरेका छन् ।

‘गृहसचिवको समन्वयमा एकीकृत क्वारेन्टिनस्थल निर्माणका लागि सहजीकरण गर्ने, स्वस्थ्य मन्त्रालयको तर्फबाट उपत्यकामा अस्पतालका तर्फबाट २ हजार बेड र बाँकी करीब चार हजार आइसोलेसन बेड स्थानीय तहको समन्वयमा निर्माण गर्ने विषयमा केन्द्रित रहेर छलफल भयो,’ स्वास्थ्य सचिव लक्ष्मण अर्यालले भने, ‘बाँकी ४ हजार आइसोलेसन बेड प्रदेश र स्थानीय तहहरु विभिन्न स्थानमा अहिले भएकै संरचना खोजेर निर्माण गर्ने र त्यहाँ लक्षण नदेखिएका विरामीलाई स्थानीय तहको समन्वयमा राख्ने भन्ने भएको छ ।’ उनले लक्षण देखिएका विरामीलाई स्वाथ्य मन्त्रालयले निर्माण गर्ने २ हजार बेडमा राखी छिटो उपचार गर्ने व्यवस्था मिलाउने भन्ने विषयमा पनि छलफल भएको बताए ।

‘आजको छलफलमा कोभिड विरुद्धको लडाईँ एकीकृत रुपमा लड्न समूदायलाई समेत परिचालन गर्ने, उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने, त्यसमा स्थानीय तहसँग समन्वय गर्ने लगायतका विषयमा समेत केन्द्रित भएर छलफल भएको छ,’ उनले भने, ‘अस्पताल र आइसोलेसन गरी करीब १० हजार बेड निर्माण गर्न सक्ने हो भने काठमाडौँ उपत्यका भित्र कोभिड–१९ विरुद्ध लड्न सकिन्छ ।’

सरकारले भदौ ४ गते काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा एकीकृत क्वारेन्टिनको प्रवन्ध तथा व्यवस्थापन गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरिसकेको छ ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकताअनुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा ६ हजार आइसोलेसन बेडको प्रबन्ध गर्ने । आवश्यकतानुसार थप गर्दै जाने पनि निर्णय पनि सरकारले गरेको छ ।

उपत्यका नगरपालिका फोरमको बैठकले पनि उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरिसकेको छ । उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा करीब २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गर्ने तयारी समेत गरेको बताइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.