काठमाडौं । जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठले हर्षोल्लास र श्रद्धाका साथ देशभर भगवान श्रीरामको जन्मोत्सव ‘राम नवमी’ मनाएको छ।
प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको जन्मको सम्झनामा रामानन्दाचार्य सेवा पीठको मुख्य गद्दी श्रीराम तारक ब्रम्हपीठ चतरा र विभिन्न शाखामा विशेष कार्यक्रमको आयोजना गरिएको हो।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा भगवान श्रीरामको जन्म भएको थियो। श्रीरामको जन्मका साथ नै संसारमा धर्मको स्थापनाका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
राम नवमीका अवसरमा भक्तजनहरूले पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गरेर बस्ने गर्दछन। रामनवमीका दिन रामगीता पाठ, वाल्मीकीय रामायण, तुलसीदास र भानुभक्तीय रामायण वाचन गर्दै भगवान श्रीरामको पूजा आराधना र रातभरि भजनकीर्तन गदै मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको स्मरण गरिन्छ।
भगवान श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि राक्षस र पापीहरूको नाश गरेका थिए। उनले ‘लोक रञ्जनात् राजा’ भन्ने शास्त्रीय मान्यतालाई पूरा गर्दै अयोध्यामा आदर्श राज्यको स्थापनामा सफलता प्राप्त गरेका थिए। त्यसै कारण उनका शासनकाललाई ‘रामराज्य’ भनेर आज पनि सम्झिन्छ।
श्रीरामका जीवनका गुण, जस्तै पितृ-मातृ भक्तिका साथ सत्यको मार्गमा लाग्न प्रेरणा दिने, अहिले पनि मानिसको जीवनमा लागू गरिनु पर्छ भन्ने उद्देश्यले राम नवमी पर्व मनाउने परम्परा स्थापना भएको छ।
यस अवसरमा परमपूज्य जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (महायोगी सिद्धबाबा) पीठाधिश्वर रहेको श्रीराम तारक ब्रम्हपीठ चतरा र महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान काठमाडौं, पोखरा, चितवन, सुर्खेत, विराटनगर, भारत, अष्ट्रेलिया, अमेरिका र बेलायतका शाखाहरूमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा आश्रमका पदाधिकारी, भक्तजन, साधक र विभिन्न सामाजिक, धार्मिक, राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। नेपाली काँग्रेसका नेता डा. रामशरण महत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली, काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार सिर्जना सिंह लगायतका विशिष्ट व्यक्तिहरू कार्यक्रममा उपस्थित थिए।
कार्यक्रमलाई जगद्गुरु रामानन्दाचार्य सेवा पीठको फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो। श्रीराम तारक ब्रम्हपीठ चतरा, जसले झन्डै ४०० वर्षदेखि साधनारत रहँदै आएको छ, समाजको कल्याण र धार्मिक जागरणका लागि निरन्तर प्रयास गर्दै आएको छ। यस पीठले ‘हिमालयन सिद्धमहायोग’ मार्फत आत्मकल्याण र समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
राम नवमीको पर्व धर्म, सत्य, त्याग र समर्पणको महत्वलाई प्रकट गर्दै समाजमा सकारात्मक सोच र कार्यको प्रवाह ल्याउन प्रेरित गर्दछ। सरकारद्वारा आजको दिनलाई सार्वजनिक बिदाको रूपमा घोषणा गरिएको छ, जसले देशभरका नागरिकहरूलाई धर्म र संस्कृतिका पवित्र मूल्यमान्यताहरूको स्मरण गराउँछ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला।
फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो
*युटुब च्यानल पनि हेर्नु होला।