काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले उमेर भएसम्म लोक सेवाको परीक्षा दिन पाउनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा उनले नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधान भावना विपरीत रहेको बताएका हुन् । सांसद ज्वालाले लोक सेवाको परीक्षामा उमेरहद लगाएर बन्देज गर्नु भनेको विद्यार्थीलाई खाडी मुलुकमा धकेल्नु भएको बताए ।
'लोक सेवामा ६ पटकभन्दा बढी लड्न नपाइने कानुनी व्यवस्था गरिँदै छ भने गलत छ । कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधान भावनाविपरीत छ । यसरी परीक्षाबाट नै बञ्चित गर्नु नेपाली युवालाई खाडी र मलेसियाबाट धकेल्नु हो । सरकारले रोजगारीको विकल्प पनि नदिने, परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्नु मौलिक अधिकारबाट बञ्चित गर्नु हो,' उनले भने ।
सांसद ज्वालाले राजनीतिक नियुक्ति कति पटक खान पाउने, चुनाव कति पटक लड्न पाउने, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति कति पटक हुन पाउने भन्ने विषयमा बहस आवश्यक रहेको बताए ।
'राष्ट्रपति, उपराष्ट्रपति एक पटक भए हुन्छ । प्रधानमन्त्री दुई पटकभन्दा बढी नहुने मन्त्री सांसद बढीमा तीनपटक र गैर सांसद मन्त्री हुने व्यवस्था गरौँ,' उनले भने, 'सत्ता सञ्चालन र पटक-पटक चुनाव हारेकालाई निषेध गरौँ ।'
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।