काठमाडौं । नेपालको बैंकिङ क्षेत्रलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने लक्ष्यसहित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक प्रा.लि. (केएफ) बीच ऐतिहासिक रणनीतिक साझेदारी सम्झौता भएको छ।
सिबिफिनको सुन्धारा स्थित कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापछि कोइरालाले बैंकिङ क्षेत्रलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्दै प्रतिस्पर्धी, सुरक्षित र नवप्रवर्तनमुखी बनाउन यो सहकार्य कोसेढुंगा सावित हुने बताएका छन्।
त्यस्तै, काठमाडौं फिनटेकका संस्थापक सुब्बाले बैंकिङ नेतृत्वकर्तालाई डिजिटल बैंकिङ, साइबर सुरक्षा तथा फिनटेकसम्बन्धी विश्वस्तरीय ज्ञान प्रदान गर्ने अवसर मिल्नु ठूलो उपलब्धि भएको बताएका छन्। उनका अनुसार, यो साझेदारीले डिजिटल बैंकिङ र प्रविधि–सञ्चालित नवप्रवर्तनमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
सम्झौताअनुसार, बैंक सञ्चालक समिति सदस्यहरूका लागि रणनीतिक वित्तीय व्यवस्थापन, साइबर सुरक्षासम्बन्धी प्रशिक्षण, बैंकिङ क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग तथा नियमनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ। साथै, डिजिटल बैंकिङसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरिने जनाइएको छ।
सम्झौताअनुसार, काठमाडौं फिनटेकले कार्यक्रम आयोजना, स्रोत व्यवस्थापन तथा प्राविधिक विशेषज्ञता प्रदान गर्नेछ भने सिबिफिनले आफ्नो सञ्जाल र रणनीतिक मार्गदर्शनमार्फत परियोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग गर्नेछ।
डिजिटल रूपान्तरणको चरणमा रहेको नेपालको बैंकिङ क्षेत्रलाई अझ प्रविधिमैत्री, सुशासनमुखी र सशक्त बनाउन यो साझेदारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।