add

मध्यभोटेकोशी जलविद्युत् आयोजना एक महिनाभित्र सम्पन्न हुने






ActPro Nepal

|

२ चैत, २०८१

|
510

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।

निर्माण सम्पन्न भइसकेको मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति गर्न आवश्यक संरचनाको परीक्षणका क्रममा सुरुङमा पानी चुहिने समस्या देखिएको थियो। हाल मर्मत कार्य तीव्र गतिमा भइरहेको प्राधिकरणले जनाएको छ।

१०२ मेगावाट क्षमताको यो आयोजनाबाट जाडो महिनामा करिब ४० मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। हिउँदमा विद्युत् आपूर्तिको सन्तुलन कायम गर्न आयोजना छिटो सञ्चालनमा ल्याउन प्राधिकरणले ताकेता गर्दै आएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार आयोजनास्थल निरीक्षण गरेको छ। टोलीले प्रसारण लाइन, सबस्टेसन तथा निर्माण प्रगतिको अवस्थाबारे जानकारी लिएको छ। टोलीले खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई दुई केभीमा चार्ज गर्न बाँकी काम शीघ्र पूरा गर्न निर्देशन दिएको छ।

मध्यभोटेकोशी आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्न निर्माण भइरहेको तामाकोशी–काठमाडौं ४०० केभी प्रसारणलाइन अन्तिम चरणमा पुगेको छ। रामेछापको नयाँ खिम्ती सबस्टेसनदेखि सिन्धुपाल्चोकको बाह्रबिसेसम्म सम्पूर्ण टावरहरू ठड्याइसकिएको छ भने करिब एक किलोमिटर तार तान्न मात्र बाँकी छ।

हाल चार केभी प्रसारणलाइनलाई अस्थायी रूपमा २०० केभी क्षमतामा सञ्चालन गरी मध्यभोटेकोशीको विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने योजना बनाइएको छ। यसका लागि नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना स्थापना गर्ने कार्य अघि बढाइएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको भूमिका महत्वपूर्ण हुने भएकाले निर्माणलाई तीव्रता दिन निर्देशन दिएका छन्।

बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइनअन्तर्गत १२२ टावरमध्ये दुई वटाको मात्रै निर्माण बाँकी छ भने बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.