add

फागुनमा घरजग्गा कारोबार स्थिर, राजस्व बढ्यो






ActPro Nepal

|

२ चैत, २०८१

|
61

काठमाडौं । चालु आर्थिक वर्षको फागुनमा घरजग्गा कारोबार स्थिर देखिएको छ । विगत ३ वर्षदेखि शिथिल घरजग्गा कारोबारले अझै गति लिन नसकेको हो ।

चालु वर्षको कात्तिकदेखि लगातार बढ्दै आएको घरजग्गा कारोबार माघमा घटेको थियो भने फागुनमा स्थिर रहेको छ । भूमि व्यवस्थापन विभागका अनुसार चालु आवको फागुनमा देशभरका १३२ मालपोत कार्यालयबाट कुल ४६ हजार ६१ वटा घरजग्गाको लिखत पारित (किनबेच) भएको छ ।

माघको तुलनामा फागुनमा घरजगग्गा कारोबार ८ वटाले घटेको छ । माघमा देशभरमा ४६ हजार ६९ वटा घरजग्गा कारोबार भएको थियो।

२०७९ जेठमा सरकारले भू–उपयोग नियमावली लागू गरेदेखि लगातार ओरालो लागेको घरजग्ग कारोबारले अझै गति लिन नसकेको हो । अहिले घरजग्गा कारोबारको सिजन भए पनि आर्थिक शिथिलताका कारण किनबेच बढ्न नसकेको व्यवसायीहरू बताउँछन् ।

यद्यपि, आगामी महिनाहरूमा भने घरजग्गा कारोबार बढ्नेमा व्यवसायी आशावादी छन् । सरकारले गत महिना अध्यादेशमार्फत रियल ईस्टेट कम्पनीहरूले हदबन्दीभन्दा बढी रहेको जग्गा प्लटिङ गरी बेच्न पाउने व्यवस्था गरेको छ । यसले शिथिल घरजग्गा व्यवसायलाई चलायनमान बनाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

चालु आवको ८ महिनामा देशभरमा ३ लाख २४ हजार ३३९ वटा घरजग्गा किनबेच भएको छ । जसमा साउनमा ४३ हजार ८३५ वटा, भदौमा ३२ हजार ७९८, असोजमा ३० हजार ५२७, कात्तिकमा ३३ हजार ५१४, मंसिरमा ४३ हजार ३७९, पुसमा ४८ हजार १५६ र माघमा ४८ हजार ६९ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

गत आवकोे तुलनामा चालु आवका घरजग्गा किनबेच ४.५५ प्रतिशतले घटेको छ । गत आवको ८ महिनामा कुल ३ लाख ३९ हजार ८३५ वटा घरजग्गा किनबेच भएको थियो ।


घरजग्गा कारोबारमा सुधार ल्याउन सरकार र नेपाल राष्ट्र बैंकले एकपछि अर्को खुकुलो नीति ल्याए पनि कारोबार भने बढ्न सकेको छैन ।

सरकारले २०८० साउन अन्तिममा भूउपयोग नियमावली संशोधन गरेर यथास्थितिमै कित्ताकाट खुलाएको थियो । सो बेला १ वर्षभित्र जग्गा वर्गीकरण गरिसक्न समय सीमा तोकिएको थियो । थपिएको समयमा वर्गीकरण नसकिँदा २०८१ असारदेखि फेरि कित्ताकाट रोकिएको थियो । कित्ताकाट नै रोकिएपछि सरकारले २०८१ भदौ २६ गते जग्ग वर्गीकरण गर्ने समय २०८२ असारसम्म थप्दै फेरि कित्ताकाट खुलाएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले व्यक्तिगत घर कर्जाको सीमा बढाएर २ करोड पुर्याएको छ भने रियल ई–स्टेट कम्पनीलाई दिइने कर्जाको भार १०० प्रतिशतमा झारेको थियो । त्यस्तै, रियल ई–स्टेट कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।

त्यस्तै, राष्ट्र बैंकले २०८० असोजमा घरजग्गा धितो कर्जाको सीमा पनि बढाएको थियो । ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । त्यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो ।

त्यसैगरी, काठमाडौं उपत्यका भित्र रियल ई–स्टेट कर्जाको धितो संरक्षणमा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । साथै, नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीररियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था गरेको थियो । त्यससअघि यस्तो सीमा ४० प्रतिशत थियो । त्यस्तै, २०८१ जेठमा ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा सहजै कर्जा पाइने अवस्था छ भने ब्याजदर समेत घट्दो क्रममा छ । अहिले बैंकहरूको औसत बेसरेट नै ७ प्रतिशतभन्दा तल झरिसकेको छ । बैंकहरूले एकल अंकको ब्याजदरमै घरकर्जाका स्कीम ल्याउन थालेका छन् । यद्यपि, अपेक्षित रूपमा भने बढ्न सकेको छैन ।

राजस्व भने बढ्यो

फागुनका कारोबार स्थिर रहे पनि सरकारको आम्दानी पनि बढेको छ । माघको तुलनामा फागुनमा राजस्व संकलन २५ करोड रुपैयाँ बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । सहरी क्षेत्रमा महँगा घरजग्गा किनबेच हुँदा राजस्व बढेको हो ।

फागुनमा सेवा करबाट २८ करोड ८४ लाख, रजिष्ट्रेशन दस्तुर २ अर्ब २० करोड ३७ लाख र पूँजीगत लाभकरबाट १ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आवको ८ महिनामा घरजग्गा कारोबार बापत २८ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जसमा साउनमा ३ अर्ब ८३ करोड, भदौमा ३ अर्ब ८ करोड, असोजमा ३ अर्ब ९ करोड, कात्तिकमा २ अर्ब ७० करोड , मंसिरमा ३ अर्ब ८७ करोड, पुसमा ४ अर्ब २५ करोड र माघमा ३ अर्ब ८७ करोड रुपैयाँ राजस्व उठेको थियो।

यी जिल्लामा भयो धेरै कारोबार

विगतका महिनाहरूमा जस्तै फागुनमा पनि तराईका जिल्लाहरूमै धेरै घरजग्ग किनबेच भएको छ । फागुनमा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट सबैभन्दा धेरै १ हजार ८४७ वटा लिखत पारित भएको छ ।

त्यस्तै, मालपोत कार्यालय झापाबाट १ हजार ७१२, मोरङबाट १ हजार ५७५, जनकपुरधामबाट १ हजार ५४९, राजविराजबाट १ हजार १८७, तुलसीपुरबाट ९८५, मलंगवाबाट ९८०, सिराहबाट ९७४ वटा घरजग्गा किनबेच भएको छ ।

काठमाडौं उपत्यकामा मालपोत कार्यालय भक्तपुरबाट सर्वाधिक ९०८ वटा घरजग्गा किनबेच भएको छ । त्यस्तै, मालपोत कार्यालय लगनखेलबाट ८४०, कलंकीबाट ६२१, चाबहिलबाट ४६७, साँखुबाट ४६८, मनमैजुबाट २५२, डिल्लीबजारबाट १६० र टोखाबाट १५१ वटा लिखत पारित भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.