काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको २६ औं फ्लोरा एक्स्पोमा फूलप्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।
चैत्र १ गतेदेखि सुरु भएको पुष्प मेला चैत्र ४ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ।
मेलाका संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का उपाध्यक्ष रामबहादुर तामाङका अनुसार एकै दिन ९ हजार ५ सय व्यक्तिले मेलाको अवलोकन गरेका छन्। मेलामा भिडभाड अपेक्षाभन्दा धेरै रहेको र यसले आयोजकलाई अत्यन्त खुसी बनाएको तामाङले बताए।
आयोजकका अनुसार ४ दिनको अवधिमा ६० हजारभन्दा बढी अवलोकनकर्ताहरू मेलामा सहभागी हुने अनुमान गरिएको छ भने मेलाको कुल कारोबार एक करोड रुपैयाँभन्दा बढी हुने अपेक्षा गरिएको छ। शुक्रबार मात्र मेलामा साढे १७ लाख रुपैयाँको कारोबार भएको जानकारी दिइएको छ।
यस वर्षको फ्लोरा एक्स्पो विशेष किसिमका फूलहरू प्रदर्शनमा राखिएको छ। पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ।
एक्स्पोमा व्यवसायिक स्टल तथा अफिसियल स्टलहरू गरी जम्मा ८२ वटा स्टलहरू रहेका छन्। मेलाले फूल तथा सजावटी बिरुवाको व्यापारलाई प्रवर्द्धन गर्दै व्यवसायी तथा उपभोक्ताहरूलाई एक आपसमा जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
मेलामा सहभागी व्यवसायीहरूले नयाँ प्रविधिहरूको अवलोकन गर्न र आफ्नो व्यवसाय विस्तार गर्न सक्ने अवसर पाउनेछन्। फूलहरूको विविधता तथा सौन्दर्यप्रति आकर्षित भई धेरै संख्यामा मानिसहरूले मेलामा सहभागिता जनाइरहेका छन्।
हेर्नुहोस् तस्बिरहरु :
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।