काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश परिवर्तनको संघारमा पुगेको बताउँदै कसैले पनि यो प्रक्रिया रोक्न नसक्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको ९औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले देशको परिवर्तनलाई एक वा दुई जनाले रोक्न नसक्ने स्पष्ट पारे। उनले देश नै सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै, यो परिवर्तनको यात्रालाई कसैले अड्काउने प्रयास गर्नुहुँदैन भनेका छन्। साथै, उनले गलत प्रचार गर्ने र समाजमा भ्रम सिर्जना गर्ने प्रवृत्तिको विरोध गर्दै समाधानका उपायहरू खोज्नुपर्नेमा जोड दिए।
राजसंस्था र प्रजातन्त्र विषयमा बोल्दै लिङदेनले यी दुई संस्था एकअर्काका विरोधी नभएको धारणा राखे। उनले नेपालमा राजासहितको प्रजातन्त्र आवश्यक रहेको उल्लेख गर्दै, राजसंस्था र प्रजातन्त्र सँगसँगै जान सक्ने बताए। उनका अनुसार, यी दुई विकल्प होइनन्, बरु सहअस्तित्वका रूपमा अगाडि बढ्न सक्छन्।
पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित विधेयकप्रति कडा आपत्ति जनाए। उनले यो विधेयक अत्यन्तै खतरनाक रहेको बताउँदै, यदि जस्ताको त्यस्तै पारित भएमा अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्र नै समाप्त हुने चेतावनी दिए। उनका अनुसार, सरकारले हरेक गतिविधिलाई नियन्त्रण गर्न खोजेको छ, जसले नागरिकको स्वतन्त्रतामा प्रत्यक्ष असर पार्नेछ।
त्यसैगरी, पार्टीका नेता धवल शमशेर राणाले परिवर्तनको हावा चले पनि मिडिया हाउसहरूले यसलाई स्वीकार नगरेको आरोप लगाए। उनले कतिपय सञ्चारमाध्यमहरूले परिवर्तनलाई अझै नजरअन्दाज गरिरहेको उल्लेख गर्दै, उनीहरू कहिलेसम्म यसलाई बेवास्ता गर्ने हुन् भन्ने हेर्न बाँकी रहेको बताए।
उक्त कार्यक्रममा डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, र गोपाल पौडेलले पनि आफ्ना विचार व्यक्त गरेका थिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।