काठमाडौं । चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपमा फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । १७ बैंकले फागुनकै ब्याजदर स्थिर राखेका छन् भने कुमारीले बढाएको छ । हिमालयन र नेपाल बैंकले भने घटाएका छन् ।
२०८० कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले यो वर्ष पुसदेखि भने स्थिर राख्दै आएका छन् । बैंकिङ प्रणालीमा अधिक लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका थिए ।
तर, ब्याजदर निकै सस्तिएपछि बैंकहरूबाट निक्षेप बाहिरिन थालेको छ । त्यसैलाई, मध्येनजर गर्दै अधिकांश बैंकहरूले चैतमा पनि फागुनकै ब्याजदर कायम राखेका हुन् । साथै, पछिल्लो दिनमा कर्जाको माग केही बढ्न थालेकाले पनि बैंकहरूले निक्षेपको ब्याजदर थप नघटाएका हुन् ।
चैतमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ५.९६ प्रतिशत रहेको छ । फागुनमा ६ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर चैतमा ०.०४ प्रतिशत बिन्दुले घटेर ५.९६ प्रतिशतमा झरेको छ ।
त्यस्तै, चैतमा संस्थागत निक्षेपको ब्याजदर ०.०६ प्रतिशतले घटेको छ । फागुनमा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ४.४९ प्रतिशत रहेकोमा चैतमा घटेर ४.४३ प्रतिशतमा झरेको छ ।
चैतका लागि हिमालयन बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.७५ प्रतिशत र नेपाल बैंकले ०.१० प्रतिशत बिन्दुले घटाएको छ । कुमारी बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदर ०.१० प्रतिशत बिन्दुले बढाएको छ ।
चैतमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर १.१ प्रतिशत बिन्दुसम्म फरक भएको छ । एनआइसी एशियाले सर्वाधिक ६.६ प्रतिशत ब्याजदर दिने भएको छ भने नेपाल एसबीआइ र लक्ष्मी सनराइजले सबैभन्दा कम ५.५ प्रतिशत ब्याज दिने भएका छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि २०८० असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर २०८० कात्तिकदेखि लगातार ब्याजदर घटाउँदै आएका छन् ।
बैंकहरूले यसअघि लगातार निक्षेपको ब्याजदर घटाएकाले अहिले औसत बेसरेट ७ प्रतिशतभन्दा तल झरिसकेको छ । बेसरेट सस्तिएसँगै कर्जाको ब्याजदर पनि निकै घटेको छ ।
बैंकिङ प्रणालीमा अहिले साढे ६ खर्ब रुपैयाँ बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । साथै, राष्ट्र बैंकले पनि निक्षेप बोलकबोल मार्फत हप्तैपिच्छे अर्बौं रुपैयाँ खिच्दै आएको छ ।
कर्जाको माग बढ्न नसक्दा महँगो ब्याजमा उठाएको निक्षेप राष्ट्र बैंकमा ३ प्रतिशतमै राख्नुपर्ने बाध्यता छ । चालु आवको ७ महिनामा बैंकहरूले करिब २ खर्ब ७२ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गर्न सकेका छन् ।
२०८० साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । त्यसअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।