add

सेयर बजारबाट सरकारको राजस्व चार गुणा वृद्धि






ActPro Nepal

|

८ फागुन, २०८१

|
73

काठमाडौं । चालु आर्थिक वर्षमा सेयर कारोबारबाट प्राप्त हुने सरकारको आम्दानी ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको ७ महिना (माघसम्म)को तुलनामा चालु वर्षको सोही अवधिमा सेयर कारोबारबाट प्राप्त हुने पूँजीगत लाभकर झण्डै चार गुणाले बढेको हो ।

सीडीएस एण्ड क्लियरिङका अनुसार चालु आवको माघसम्म सेयर कारोबारबाट कुल १० अर्ब ८३ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर प्राप्त भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ७ अर्ब ७९ करोड अर्थात् २७८.२६ प्रतिशत धेरै हो । गत वर्षको ७ महिनामा पूँजीगत लाभकर बापत सरकारले २ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालु आवमा नेप्से परिसूचकमा सुधार आई लगानीकर्ताको नाफा बढ्न जाँदा सरकारले पाउने राजस्वमा पनि वृद्धि भएको हो ।

गत असार १७ गते संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली काँग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति गरेसँगै नेप्से लगातार बढेर ३००० बिन्दुसम्म पुगेको थियो । साथै, साउनमा एकैदिन कीर्तिमानी २९ अर्ब ९५ करोडसम्मको कारोबार भएको थियो । दैनिक कारोबार र परिसूचक दुवै बढ्दा साउनमा सरकारले एकै महिना सवा ४ अर्ब रुपैयाँ राजस्व पाएको थियो ।

भदौदेखि ओरालो लागेको नेप्से अहिले २७५० बिन्दु हाराहारी छ । तर, परिसूचक र कारोबार रकम गत वर्षकोभन्दा माथि नै रहेकाले पूँजीगत लाभकर बढेको हो । चालु आवमा दैनिक औसत कारोबार ६ अर्ब माथि नै रहेको छ ।

साउनमा सबैभन्दा धेरै ४ अर्ब २३ करोड रुपैयाँ पूँजीगत लाभकर उठेको थियो । त्यस्तै, भदौमा २ अर्ब ५८ करोड रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख रुपैयाँ, कात्तिकमा ७५ करोड ८७ लाख, मंसिरमा १ अर्ब ४ करोड, पुसमा ५८ करोड १ अर्ब ५ करोड ७० लाख रुपैयाा पूँजीगत लाभकर संकलन भएको छ ।

सरकारले यसअघि आर्थिक वर्ष २०७७/७८ मा इतिहासकै धेरै १४ अर्ब ६ करोड रुपैयाँ पूँजीगत लाभकर सङ्कलन गरेको थियो।

लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरूले सेयर कारोबारमा पूँजीगत लाभकर, लाभांश, आयकर र अग्रिम कर कट्टी बापत सरकारलाई कर तिर्नु पर्दछ ।

हाल संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले १ वर्षभन्दा कममा बेचे ७.५ प्रतिशत र सोभन्दा बढी अवधिमा बेचेमा ५ प्रतिशत पूँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.