वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा २९ अर्ब २७ करोड ८२ लाख ४ हजार रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।
आव २०८०/८१ को ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् रू. १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको ६ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए ।
‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’ उनले भने, ‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’
गत आवको ६ महिनामा यो नाका हुँदै १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आवको ६ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत १७ करोड ६६ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
गत आवको सोही अवधिमा निर्यात गरेवापत भने १० करोड ३ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन् ।
वीरगञ्ज नाका हुँदै चालु आवको ६ महिनामा रु दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । त्यसैगरी, गत आवको छ महिनाकै अवधिमा भने २ खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि ६.४५ प्रतिशतले बढेको छ । रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।