काठमाडौं । काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७.५ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।
आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक लिमिटेडले ५ अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले ३ अर्ब, नागरिक लगानी कोषले २ अर्ब, माछापुच्छे्र बैंकले १ अर्ब ४५ करोड र एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्नेछन् । बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड रुपैयाँ बराबर लगानी गर्नेगरी सम्झौता भएको प्रवद्र्धक कम्पनीले जनाएको छ ।
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी सो आयोजना निर्माण गरिनेछ ।आयोजनाको अनुमानित लागत निर्माण अवधिभरको ब्याज सहित १८ अर्ब १३ करोड रुपैयाँ छ । आयोजनाको लागि आवश्यक पर्ने वित्तीय व्यबस्थापन स्वपूँजी र ऋण लगानीबाट गरिने छ ।
स्वपूँजी लगानी संस्थागततर्फ नेपाल विद्युत् प्राधिकरण २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड १५ प्रतिशत र विद्युत् उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी ५१ प्रतिशत छ । कम्पनीमा जम्मा पूँजीको ४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ । साधारण शेयरतर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत बैदेशिक रोजगारमा गएका नेपाली नागरिकको लागि सुनिश्चित गरिएको छ ।
त्यस्तै, १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासी र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । आयोजना निर्माण सुरु भएको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको विद्युत्गृह तथा आवास गृहसम्मको बाटो तथा तमोर नदीका दुई स्थानमा बेली ब्रिज राख्ने काम सम्पन्न भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।