काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ‘स्मार्ट र इन्टिलिजेन्ट (एआइ) ट्राफिक लाइट’ महानगर क्षेत्रभित्र विस्तार गरिने बताएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीको सहकार्यमा ललितपुर महानगरपालिकाले आइतबार जावलाखेलमा आयोजना गरेको साप्ताहिक ट्राफिक सचेतनाको शुभारम्भ कार्यक्रममा उनले महानगर भित्र एआइ लाइट जडानलाई तीव्रता दिइने बताएका हुन् ।
उनले अहिले कुपन्डोलबाट जावलाखेलसम्म स्मार्ट र इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेर व्यवस्थापन गरिएको जनाउँदै आगामी वर्ष पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्म, सातदोबाटोबाट हरिसिद्धिसम्म र जावलाखेलबाट एकान्तकुना हुँदै भैँसेपाटीसम्मको सडकमा जडान गरेर व्यवस्थापन गरिने उल्लेख गरे ।
उनले यात्रुको सुरक्षाका लागि ललितपुरका सडकमा जडान गरिएका ‘स्मार्ट र इन्टेलिजेन्ट’ ट्राफिक लाइट ३६५ दिन सञ्चालन हुने जानकारी गराउँदै विशिष्ट व्यक्तिको आगमन भन्दैमा जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्न नपाइने बताए ।
‘नियम उल्लङ्घन गर्नेको विवरण प्रविधि (सिस्टम)ले देखाउँछ, जो सुकैले नियम उल्लङ्घन गरेमा सिस्टमले विवरण सङ्कलन गरिरहेको हुन्छ, सोहीअनुसार हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,’ प्रमुख महर्जनले भने ।
‘धेरैले ज्यान गुमाउनुपरेको स्थान कुसुन्तीमा ‘लिप्ट’सहितको अपाङ्गतामैत्री ‘ओभरहेड ब्रिज’ बनाउने काम भइरहेको छ, सम्पन्न भएपछि अपाङ्गता भएकाहरूले पनि सहजै सडक पार गर्न सक्नुहुनेछ । डरलाग्दो र भयावह दुर्घटनाको अवस्था देखिएको पाटन अस्पताल अगाडिको सडकमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने तयारी गरिरहेका छौँ, यसलाई छिट्टै पूर्णता दिनेछौँ,’ प्रमुख महर्जनले भने ।
उनले ललितपुरलाई बस्न योग्य सहरका रूपमा विस्तार गर्दै नागरिकको दैनिकी सहज बनाउने गरी विकास गर्ने भन्दै हरेक साता नयाँ र राम्रो काम गरेर नागरवासीलाई सेवा प्रवाहमा सहजता दिने प्रतिबद्धता व्यक्त गरे । उनले एक सातासम्म सञ्चालन हुने ट्राफिक सचेतनाले जनतामा ट्राफिक नियमसम्बन्धी जानकारी प्रदान गर्ने विश्वास व्यक्त गरे ।
जावलाखेलस्थित प्राङ्गणमा महानगरप्रमुख महर्जनले ट्राफिक सन्देशमूलक ‘प्लेकार्ड’ देखाउँदै ट्राफिक नियमको पालनाबारे यात्रु, सवारीचालक र पैदलयात्रुलाई सचेतना दिने उद्देश्यले सुरु गरिएको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरे ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले आमनागरिकको दैनिकीलाई व्यवस्थापन गर्न नसक्दा समस्या भई यात्रामा अहजता सृजना गर्ने भन्दै ट्राफिक सचेतनाले जोखिम घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
‘सचेतामस्लक काम सबैले मिलेर गर्नुपर्छ, यस्ता काममा जिल्ला प्रशासनको सहयोग र समन्वय रहनेछ, ट्राफिक नियम बुझेर परिपालन गरेको खण्डमा दुर्घटनामा कसैले पनि ज्यान गुमाउनु पर्दैन । सवारीसाधनको नियमित मर्मत र नियम पालना महत्वपूर्ण छ, यो असल अभ्यासको सुरुआत गरेकामा महानगरलाई धन्यवाद दिन चाहान्छु,’ उनले भने ।
प्रजिअ ढकालले ललितपुरमा स्मार्ट र इन्टेलिजेन्ट ट्राफिक लाइटको सुरुआत भइसकेकामा त्यहीअनुसार चालक र यात्रीले व्यवहार र कार्यशैलीमा पनि उतार्नुपर्नेमा जोड दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।