add

पाथीभरादेवी मुकुम्लुङ दर्शन केबलकारको निर्माण सुरु






ActPro Nepal

|

८ माघ, २०८१

|
85

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरादेवी मन्दिरसम्म पुग्ने पाथीभरादेवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य सुरु भएको जानकारी दिएका छन् ।

जिल्लाका सबै राजनीतिक दलहरू, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने पनि इन्द्र केदेमले उल्लेख गरेका छन् ।

केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशे ढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । उनले केबलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने पनि बताएका छन् ।

पौडेलले अबको १५ महिनाभित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने विश्वास पनि दिलाएका छन् । यो केबलकारले अशक्त वृद्ध वृद्धा तथा बालबालिका लगायतका भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुनेछ । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबलकार अनुपम उदाहरण बन्ने पनि सञ्चालक पौडेलले उल्लेख गरेका छन् ।

यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको सख्या १० लाखसम्म पुग्ने विश्वास कम्पनीले लिएको छ । यसका साथै केबलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्व स्तरीय पर्यटन उत्पादन र सेवा सुविधाहरू सहितको विश्व प्रसिद्ध एक अनुपम पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नको लागि सहयोग पुग्ने समेत कम्पनीको विश्वास छ ।

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन आइएमई ग्रुपले गरिरहेको छ । आइएमई ग्रुपले केबलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको छ । काठमाडौँको चन्द्रागिरिमा पहिलो केबलकार निर्माण गरी उपत्यकामा नयाँ उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको आइएमईले नवलपुरको मौलाकाली र बुटवलको लुम्बिनीमा पनि केबलकारको निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । यी दुवै केबलकार तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् ।

कर्णालीको जालपादेवी केबलकार निर्माणको काम द्रुत गतिमा अघि बढेको छ ।

अब पाथीभरा देवी दर्शन केबलकारको काम छिटो भन्दा छिटो सम्पन्न गरी नेपालको पर्यटन बजारमा थप गेम चेन्जर परियोजनाहरू अघि बढाउने कार्यमा हातेमालो गर्न पनि आइएमई ग्रुपले सबै पक्षसँग आह्वान गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.