काठमाडौं । तीन वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा राष्ट्र बैंकले गरेको अनुगमन तथा निरीक्षणको क्रममा नियम उल्लंघन गरेको पाइएपछि प्रभु, एनआइसी एसिया र हिमालयन बैंकलाई कारबाही गरेको हो ।
नेपाल राष्ट्र बैंक, सुपरीवेक्षण विभागका अनुसार प्रभु बैंकले सञ्चालक समितिको बैठकबाट सञ्चालक पदमा वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरी सोही वार्षिक साधारण सभाबाट अनुमोदन मात्र गराई नियुक्तिलाई निरन्तरता दिएकोकाले सञ्चालक समितिलाई सचेत गराइएको हो ।
बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भएतापनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफू अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएको हुँदा निज संचालकलाई पदबाट हटाउन उक्त बैंकको संचालक समितिलाई निर्देशन दिएको छ ।
यस्तै राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पूँजी पर्याप्तता अनूपात गणना सम्बन्धमा क्यापिटल एडिक्युसी फ्रेमवर्क २०१५ को व्यवस्था अनुरुप प्राथमिक पूँँजीबाट घटाउनु पर्ने रकम नघटाएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, एनआइसी एसिया बैंकले बैंकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका सञ्चालकका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेको पाइएकाले प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाइलाई नसिहत दिएको छ ।
त्यस्तै, राष्ट्र बैंकबाट एनआइसी एसिया बैंकको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानी सम्बन्धी निर्देशन, पूँजीकोष तथा जोखिमभार सम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको पाइएको छ ।
त्यस्तै, हिमालयन बैंकले कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।