झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकनुसार (साउन-पुस) सम्ममा २ अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।
सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आव २०८०/८१ को सोही अवधिमा १ अर्ब ९० करोड ५ लाख ६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।
भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।
कार्यालयको तथ्यांकनुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६.७ प्रतिशतले बढेको छ । चालु आवको ६ महिनामा ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा ३ अर्ब ९० करोड ५८ लाख ०६ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्यांकअनुसार प्लाइउड २७.९०, सिमेन्ट क्लिंकर ४ हजार १४१, भेनियर सिटको निर्यात २३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ ।
पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको ६ महिनामा १३ अर्ब ८४ करोड चार लाख ३९ हजार रुपैयाँको मालवस्तु निर्यात भएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।